जनता आवास कार्यक्रम : भोजपुरका विपन्न परिवार नयाँ घर

भोजपुर । जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ ।
आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो ।
यहाँका गरिबीका कारण घर बनाउन नसकेका परिवारको पहिचान गरेर नयाँ घर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङ्पाहाङले जानकारी दिए ।
एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङ्पाहाङको भनाइ छ । गरिब तथा विपन्न दलित परिवारको घर निर्माणले उनीहरूलाई सहजता भएको वडाध्यक्ष माङ्पाहाङले बताए । निर्माण सम्पन्न भएपश्चात् सबै परिवारले भुक्तानीसमेत लिएको उनको भनाइ छ ।
“सरकारको जनता आवास कार्यक्रममार्फत हाम्रो वडाका १० दलित परिवारले नयाँ घर पाएका छन्”, वडाध्यक्ष माङ्पाहाङले भने, “घर बनाउने क्षमता नहुँदा वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएको अवस्था थियो । हामीले आर्थिक अवस्था कमजोर भएकाले घर निर्माणका लागि सिफारिस गरेको हौँ । घर निर्माण सम्पन्न गरेर सबै परिवार भुक्तानीसमेत पाएको अवस्था छ ।”
राज्यबाट आएको बजेटबाट आवश्यक मापदण्डअनुसारको घर निर्माण भएको उनको भनाइ छ । राज्यले पनि गास, बास र कपासलाई नागरिकको मौलिक हकमा राखेकाले सहज बसोबासका लागि वडाले पहल गरेको वडाध्यक्ष माङ्पाहाङले बताए ।
“गरिबीका कारण धेरै परिवारको अवस्था दयनीय छ”, उनले भने, “खुला आकासमुनि दिनरात कटाउने अवस्थामा घर पाउँदा उहाँहरूको दैनिकी फेरिएको छ ।” सो रकमबाट अनिवार्यरूपमा शौचालय निर्माण गर्नुपर्ने उनको भनाइ छ । शौचालय निर्माण नगर्ने परिवारले रु ३६ हजार नपाउने वडाध्यक्ष माङपाहाङले बताए । हाल बनेको घरले सबै विपन्न परिवारलाई नसमेटिएकाले आगामी दिनमा पनि घर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए ।
खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा घर पाउँदा दैनिकी फेरिएको स्थानीय फूलमाया विश्वकर्माले बताए । घर बनेपछि धेरै सहजता भएको उनको भनाइ छ । “घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ”, उनले भने, “गरिबीका कारण जीवन निकै कष्टकर थियो । घर बनाएर बस्नसक्ने अवस्था थिएन । राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ । सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ । घर पाउँदा निकै खुसी लागेको छ ।”
घर नहुँदा चिसोका कारण दैनिकजसो बाल बच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताए । त्योसँगै बालबालिकालाई पठनपाठनमा समेत सहजता भएको उहाँको भनाइ छ ।
“हिउँद तथा वर्षात्को समयमा बालबच्चालाई रोगबाट जोगाउन नै गाह्रो हुन्थ्यो”, खुसी हुँदै विश्वकर्माले भने, “ढिलै भए पनि राज्यले हाम्रो दुःख देख्यो । मजस्ता धेरै दलित परिवारले घर पाएका छौँ । राज्य हाम्रो साहरा बन्यो ।”
कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए । टहरामा त्रिपाल हालेर वर्षौं कटाएको अवस्थामा घर पाउँदा हर्षित बनेको उनको भनाइ छ ।
“गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ”, उनले भने, “जीवन निकै कष्टकर बनेको थियो । वर्षात् तथा जाडोको समयमा जीवन धेरै नै कष्टकर थियो । घर बनेपछि हामीलाई सहज भएको छ ।”
















आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ जनाको मृत्यु
आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया