‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ ।
चौराहाबाट गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने जनाउँदै उपमहानगरपालिकाले विभागसँग सो आग्रह गरेको हो ।
बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्ती क्षेत्र सडकको ‘सर्भिस लेन’लाई हरियाली, साना सवारी पार्किङ, साना व्यवसाय, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निर्णय गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार बुटवलको मुख्य बजार क्षेत्रको सर्भिस लेनको बहुउपयोग गर्नका लागि सर्भिस लेनको डिजाइनलाई सडक विभागलाई पत्राचार गर्ने निणर्य गरिएको हो ।
उनले चौराहाबाट गोलपार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण सुरु हुनुअघि नै ढाँचामा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनु पर्छ भने । “ सडक बनाएपछि सवारी पार्किङ गर्ने क्षेत्र मासियो, अन्यत्र पार्किङ गर्ने स्थान छैन, पहिलेका आराम गर्ने चौतारी पनि मासिए, पानी पिउने ठाउँ, शौचालय पनि राख्ने ठाउँ छैन”, उपमहानगरप्रमुख पाण्डेयले उनले भने, “त्यसैले यो क्षेत्रको सर्भिस लेनमा यी सबै कुरासमेत गाभेर यहाँको आवश्यकतानुसारको बनाउनुपर्छ भन्ने हाम्रो आग्रह हो ।”
उनले सर्भिस लेनको बीच–बीचमा साना गाडी पार्किङको क्षेत्र, साना विश्रामस्थल, पिउने पानी, शौचालयसमेतलाई व्यवस्थित गर्ने गरी सडक विभागलाई प्रस्तावित डिजाइन पठाइएको समेत जानकारी दिए । बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय आवश्यकतालाई हेरेर ‘सर्भिस लेनको डिजाइन’मा परिवर्तन गर्नुपर्ने बताए ।
सडक डिभिजन बुटवलका प्रमुख विसुनदास लामाले सरोकारवालाको मागअनुसार सडक विभागमा अनुरोध गर्ने बैठकमा बताए । बैठकमा बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घ, ट्राफिक व्यवस्थापन कार्यालय, खानेपानी संस्थान बुटवल, यातायात व्यवसायीलगायतका सरोकारवालाको सहभागिता थियो ।
स्थानीय सरोकारवालाबीचको छलफलको निर्णयानुसार छिट्टै स्थानीय सरोकारवालाको भेला डाकेर सडकको ‘सर्भिस लेन’ परिवर्तनका लागि बृहत् छलफल गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।
यसैगरी नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत बुटवल–८ र १० को नाला निर्माणका बारेमा सरोकारवालाबीच छलफल गरी आवश्यकतानुसार सिफारिस गर्ने निर्णय गरेको छ । नगरप्रमुख पाण्डेय र प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ सहित बसेको बैठकले नाला निर्माणका क्रममा स्थानीय आवश्यकतानुसार निर्माण गर्नका लागि सरोकारवालाबीच छलफल गर्ने निर्णय गरेको हो ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया