शीतगृहमा राखिएका एक करोडभन्दा बढीको फूल नष्ट

धरान । धरानमा किसानका रु एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।
धरान उपमहानगरपालिका–२० विष्णुपादुका बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु, धनकुटाको राजारानी, सिधुवा र तेह्रथुमका विभिन्न ठाउँका स्थानीय फूल व्यवसायीले यसपटकको तिहारका लागि छ लाख थान माला बनाउन पुग्ने सयपत्री फूल धरानस्थित शीतगृहमा भण्डारण गरेका थिए ।
त्यसमध्ये करिब चार लाख माला उन्न पुग्ने फूल बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । बाँकी दुई लाख थान मालाका लागि पुग्ने फूल बिक्री नहुँद नष्ट भएको उनको भनाइ छ । भण्डारण गरिएका फूल कुहिन थालेपछि नष्ट गरिएको उनले बताए ।
व्यवस्थापक भट्टराईका अनुसार विगतका वर्षमा धरानमा करिब पाँच लाख माला उन्न पुग्ने सयपत्रीको फूल बिक्री हुने गरेको थियो । अघिल्लो वर्षको तिहारमा चार लाख ५० हजार थान माला बनाउन पुग्ने फूल बिक्री हुँदा रु दुई करोडको कारोबार भएको थियो ।
“यसपाली करिब पाँच लाख थान माला उन्न पुग्ने फूल बिक्री हुने अनुमान गरिएको थियो । किसानले पनि त्यही अनुमान गरेर फूल उत्पादन गरेका थिए । त्यसैले करिब छ लाख मालाको फूल कृषिउपज बजारमा आएको थियो । तर सोचे जस्तो भएन”, भट्टराईले भने, “विगतमा माला लगाउनमात्र नभई घर सजावटका लागि पनि धरानमा सयपत्रीका धेरै फूल बिक्री हुने गरेको थियो तर यसपटक मालाका लागि बिक्री भए पनि घर सजावटका लागि कम बिक्री भए ।” बजारमा देखिएको आर्थिक मन्दीको असर फूलका कारोबारमा परेको उनको भनाइ छ । “पहिले फूल रोप्न हौसिएका किसान यसपाली निराश भएका छन्”, उनले भने ।
बराहक्षेत्र–९ श्रीलङ्का टप्पुमा एक बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आउनुभएका किसान कुमारमगरले पनि धरानको कृषि बजारको शीतगृहमा सयपत्री फूल भण्डारण गरेका थिए । रैथाने सयपत्री फूलखेती गरेर आर्थिक आम्दानी गरौँला भन्ने सपना देखेका कृषक मगरले यसपाली सोचेजस्तो व्यवसाय नभएको गुनासो गरे । “उत्पादन भएकामध्ये ७५ प्रतिशत फूल नष्ट भएपछि लाखौँ रकमको नोक्सानी बेहोर्नु प¥यो”, उनले भने ।
धरान कृषिउपज बजारको तथ्याङ्कअनुसार विगतमा धरान बजारमा फूलको माग उच्च थियो । स्थानीय उत्पादनले नपुगेर अघिल्लो वर्षमात्र हाइब्रिड सयपत्री फूलका डेढ लाख माला भारतको कोलकत्ताबाट आयात गरिएको थियो ।
यसपाली भने स्थानीय कृषक, कृषि समूह, कलेजका विद्यार्थीको समूहलेसमेत फूलखेती गरेका थिए । स्थानीय उत्पादन पर्याप्त भएपछि धरानमा यसपटक भारतबाट सयपत्री फूल आयात प्रतिस्थापन भए पनि स्थानीय फूल कृषकले कम मूल्य पाएकाले नोक्सानी बेहोर्नु परेको कृषि बजारका व्यवस्थापक भट्टराईले बताए ।
















साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
Election policeperson dies after falling from a cliff
Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया