‘भुटीदिदी’ ले ७३ वर्षमा पाइन् नागरिकता

बझाङ । स्थानीय काँडा गाउँमा दर्जन बढी ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये एक जना अविवाहित महिला छिन्, भुटी गुरुङ अर्थात् ‘भुटी दिदी’।
हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटीदिदीका सात दशक काँडामा लेकबेँसी गर्दै बिते। २००८ सालमा जन्मिएकी भुटीदिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने। त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए। यसैमा बित्यो उनको ७३ वर्ष। घरको काम, भेडा–च्याङ्ग्रा, गाईवस्तुको गोठ नै उनका लागि संसार बन्यो। यतिसम्म कि उनले विवाह गर्ने समेत समय पाइनन्।
आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्यो। जीवनको उत्तरार्द्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदी भतिज टेक गुरूङको घरमा बस्छिन्।
गाउँमा तीन पुस्ताले नै उनलाई भुटीदिदी भनेर सम्बोधन गर्छन्। उनलाई चिन्नेले पनि भुटीदिदीकै नामले चिन्छन्।
भुटीदिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र स–साना नानीहरूलाई ‘भदारभदै’ भन्दै खेलाउने हुँदा गाउँमा सबैकी प्यारी बनेको गाउँपालिका अध्यक्ष मानवीर बोहरा बताउँछन्।
भुटीदिदीले काखमा बोकेका भाइबहिनीहरू अहिले बाजेसम्म भइसकेका छन्। तर भुटीदिदी भने आफन्तकै नाति(नातिनालाई खेलाइरहेकी छिन्। अहिले उनको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ। उमेरमा घरायसी काम मात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा रहने भुटीदिदी केही वर्षयता भने घरमै थन्किएकी छिन्।
साइपाल गाउँपालिका–३ काँडाका ज्ञानबहादुर बोहरा भन्छन्, ‘भुटीदिदीलाई गाउँमा सबैले माया गर्छन्। घरायसी काम, भेडा–च्याङ्ग्राको हेरचाहमै जीवन बिताउनुभएक दिदीलाई विवाह गर्ने, घरबार जोड्ने कहिल्यै सोच आएन र यत्तिकै बस्नुभयो।’ बुढेसकालमा भने विवाह नगरेको पछुतो पो भयो कि क्या हो, मानसिक समस्या आइलागेको बोहराले बताए।
भतिज टेकको संरक्षणमा रहेकी भुटीदिदी जीवनभर घरायसी काममै बितेको हुँदा उनलाई विवाह गर्न पनि आवश्यक नठानेर अविवाहित नै बसेको टेकले बताए। उनका अनुसार त्यो बेलामा गाउँमा नागरिकताको आवश्यकताबारे पनि कसैलाई थाहा थिएन। विसं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको उनले सुनाए।
‘उहाँलाई मात्रै होइन, हामीलाई पनि नागरिकताको बारेमा जानकारी थिएन। पछि घुम्ती शिविरको बेलामा नागरिकता र सरकारी सेवा सुविधाबारे जानकारी भयो। त्यसपछि गाउँमा भेटिएकाले नागरिकता बनाएका थिए,’ उनी भन्छन्।
साइपालबासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन। पैदल हिँडेर नै चाररपाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति रु ३० हजार खर्च हुन्छ। खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल बताउँछन्।
उनी भन्छन्, ‘सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचेँ। त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौँ। सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो। त्यसैमा गएर नागरिकता प्रदान गर्यौं।’
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया