मंगलबार, माघ २०, २०८२

गुनासाे राखेर बालेन हिँडेपछि प्रचण्डले भने- जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ

मेरोन्यूज २०८० पुष २ गते १२:२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति गुनासो ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाल बोल्नुअघि मेयर बालेनले कुरा राखेका थिए। उनले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। आफ्ना कुरा राखेपछि मेयर शाह कार्यक्रमबाट हिँडेका थिए ।

मेयर शाहले आफ्ना कुरा राखेर कार्यक्रमबाट निस्किएपछि प्रधानमन्त्री दाहालले यसो गर्दा आफूलाई नराम्रो लाग्ने बताए।

‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आफूले भन्ने कुरा जे-जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ।’

बागमती किनारका सुकुम्बासी बस्ती वा तीनकुने र फोहोरमैला व्यवस्थापनका निम्ति मिलेर काम गर्न आफूले पहल गरेको प्रधानमन्त्रीले बताए ।

‘के अहिलेको प्रधानमन्त्री जत्तिको सकारात्मक र रचनात्मक ढंगले यी समस्या समाधान गर्न समन्वय अर्को कहीँ कसैले देख्नुभएको छ?,’ मेयर बालेनलाई प्रश्न गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईं त्यसलाई सम्बोधन गर्न किन डराउनुहुन्छरु तपाईं काठमाडौंको मेयर भएकोले ललितपुर र भक्तपुरलाई समन्वय गर्ने बढी जिम्मेवारी तपाईं‌को छ।’

प्रधानमन्त्री दाहालले आफूले मेयर शाहलाई सहयोग गर्ने बताइरहेको पनि बताए।

प्रतिक्रिया