रामग्राममा ‘महायोजना’
बहुमूल्य स्मारकलाई सुन्दर र आकर्षक बनाउन अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगको खोजी

शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ रामग्राम स्तुप । यता पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकखण्डको करिब ३ किलोमीटरको दूरीपार गरेर पुगिने उजैनी गाउँबाट १५ मिनेटको हिडाईपछि पुगिन्छ रामग्राम स्तुप ।
रामग्राम नगरपालिका- ७ स्थित झरही खोलाको किनारमा समतल मैदानमा देखिने हरियो थुम्को नै रामग्राम स्तुप हो । यस स्तुपले बुद्ध धर्मको बहुमूल्य सांस्कृतिक र धार्मिक केन्द्रको प्रतिनिधित्व गर्दछ । शताब्दीयौं पुरानो बोधि रूखले सजिएको रामग्राम स्तूपको हरियो ढिस्कोले विभिन्न वनस्पति प्रजातिहरूको एकीकरण मार्फत बौद्ध शिक्षाहरूमा एकता र सद्भावलाई जनाउँछ ।
स्तूप क्षेत्रमा वरिपरि बनाईएको काठे बाटो अनि अगाडिको सुन्दर बगैंचा आकर्षणको मुख्य आधार मानिन्छ । बौद्ध धार्मिक मान्यता अनुसार रामग्राम स्तूप करिब पच्चीस सय वर्ष पहिले कोलिय राजाद्वारा निर्माण गरिएको बताइएको छ । कोलिय राजाले निर्माण गराएको रामग्राम स्तूप उत्खनन गराउन खोज्दा नाग जातिले खन्न नदिएपछि अहिलेसम्म स्तूप जस्ताको तस्तै रहेको भनाई छ । यति महत्व बोकेको क्षेत्र भएपनि रामग्राम वर्षेदेखि ओझेलमा छ । तर केही समययता बुद्ध धर्मका अनुयायीहरु, अध्ययनमा रुची राख्नेदेखि आन्तरिक तथा वाह्य पर्यटकहरुको आवतजावत बढेको छ ।
ग्रेटर लुम्बिनीको अवधारणाभित्र समेटिने भएपनि बर्षो ओझेलमा परेको, विकास र समृद्दिका लागि कुनै कार्ययोजना नै नभएको, वत्तीमुनिको अध्यारो आदी थुप्रै नकारात्मक उपमा पाएकाले हुनसक्छ, रामग्रामले अहिलेसम्म आफुलाई चिनाउने सुन्दर नारा पाएको देखिन्न । पहिलोपटक त्यहाँ पुग्नेको मनमा सम्भवतः पहिचानहिन रामग्रामको यो दशाले चसक्क बिझाउँछ ।
खुसीको कुरा, रामग्रामले अब नकारात्मकतालाई क्रमिक रुपमा हटाएर सकारात्मक सन्देश दिने प्रयत्न गदैंछ । निस्सासिँदो जनजीवनको फोक्सोमा स्वच्छन्द हावा भर्न र भौतिक संरचनाहरुबाट सौन्दर्य भर्न रामग्राममा यस्ता केही योजना कार्यान्वयनमा आउन लागेको छ, जसले रामग्रामको स्वरुप फेरिदिने मात्र छैन, चिनारीमा समेत नौलोपना थप्नेछ ।

‘रामग्राम स्तूप नेपालको एक महत्वपूर्ण बौद्ध तीर्थस्थल हो । बुद्दको अस्तुधातुको अवशेषमा निर्माण गरिएको यो एकमात्र मौलिक स्तूपा हो । यहाँ अझैपनि बुद्दका अस्तुहरु उत्खनन् गरिएको छैन । जसकाकारण यो क्षेत्र विश्वभरका तीर्थयात्रीहरु, बुद्दका अनुयायीहरु बुद्दलाई श्रद्धान्जली अर्पण गर्न र सम्मान गर्न यो पूजनीय भूमिमा आउने गर्छन्,’ रामग्रामको मुहार फेर्न उभिएका द प्रमिश ल्यान्डका अध्यक्ष निकेश अधिकारी भन्छन्, ‘अहिले यो पवित्र स्थलको विकास गर्ने सबैभन्दा महत्वपूर्ण समय हो । प्रत्येक वर्ष यहाँ तीर्थयात्रीको संख्या बढ्दै गएको छ । तीर्थयात्रीलाई केही आधारभूत सुविधा आवश्यक छ । चाहिन्छ नै । हामी यस बहुमूल्य स्मारकलाई अगाडि बढाउन चाहिरहेका छौं । त्यसका लागि व्यक्तिगत वा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग खोज्छौं ।´
अहिले रामग्राम महायोजनाको सुभारम्भ भईसकेको छ । देशको कार्यकारी प्रधानमन्त्रीले रामग्राम क्षेत्रमै पुगेर सुभारम्भ गरेको यो महायोजनामा काँध थाप्न २४ वर्षे ठिटो निकेश अधिकारी कम्मर कसेर लागेका छन् ।

लुम्बिनी विकास कोष र रामग्राम नगरपालिका त्यसमा इटटा थाप्न तयार भएका छन् । पूरातात्विक महत्व बोकेको क्षेत्र भएपनि ओझेलमा परेको रामग्रामलाई बृहत्त पोजेक्टभित्र समेटने निकेशको योजना सारमा सुन्दै रोमाच्चक बनाउने खालको छ । ‘अब रामाग्रामको विकास गर्ने समय आयो । यसमा हामी काम गर्न लागिपरेका छौं । तपाई हामी सबैले यसमा हातेमालो गर्न जरुरी छ ।’ निकेश भन्छन् ।
रामग्रामको आंशिक निर्माण भन्दा योजनाबद्ध विकास गर्नु नै बुद्धिमानी ठानेर द प्रमिश ल्यान्डले रामग्रामको सौन्दर्य, धार्मिक महत्व र विकासलाई वृहत पोजेक्टमार्फत अगाडी बढाउन खोजेको छ ।
‘बौद्ध धर्मको विशेष महत्वको स्थल नेपालमा रहेको रामग्राम स्तूपलाई यो नयाँ परियोजनाले पुनरुत्थान गर्ने लक्ष्य राखेको छ। यस पहलले प्रार्थना, ध्यान र शान्तिपूर्ण चिन्तनका लागि ठाउँ सिर्जना गर्दा यस ऐतिहासिक र आध्यात्मिक स्थललाई सम्मान र संरक्षण गर्न खोज्छ’, पोजेक्टको नक्सांकन गरेका आर्किटेक्ट स्टेफानो बोइरी भन्छन्, ‘स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा काम गर्दै र सम्पदा संरक्षणका लागि युनेस्कोको दिशानिर्देशहरूको पालना गर्दै काम गर्ने लक्ष्य लिइएको छ । यसको दिगो संरक्षण सुनिश्चितताका लागि वास्तुकला योजना अनुसार काम हुन्छ, आगन्तुकहरूलाई स्तूपको प्रतीकात्मकतालाई जोड दिने ठाउँहरूको अनुक्रम मार्फत मार्गदर्शन गर्ने गरी काम गरिन्छ । यसमा कार्डिनल दिशाहरू चिन्ह लगाउने स्मारक गेटवेहरू र ध्यानका लागि डिजाइन गरिएको ‘शान्ति मैदान’ समावेश हुन्छ। यस क्षेत्र वरपर रमणीय जैविक विविधता सहितको बगैचाद्वारा घेरिएको सांस्कृतिक ठाउँहरू र ध्यान क्षेत्रहरू हुन्छन्।‘
यही अवधारणालाई साथ दिन लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकाले द प्रमिश ल्याण्डलाई साथ दिने घोषणा गरेको छ । लुम्बिनी विकास कोष र द प्रमिश ल्याण्डबीच पोजेक्ट अगाडी बढाउने सम्झौता समेत भईसकेको छ ।
’लुम्बिनी मात्रै होइन, ग्रेटर लुम्बिनी क्षेत्रमा रहेका धेरै धार्मिक महत्वका ठाँउहरुको विकास, संरक्षण र विश्वमा यसको चिनारी गराउनुपर्ने दायित्व छ,‘ लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा (खेन्पो छिमे) भन्छन्, ‘लुम्बिनीको विकास र समृद्दिका लागि समग्र रामग्राम क्षेत्रको विकासका लागि द प्रमिश ल्यण्डसँग लुम्बिनी विकास कोषले एउटा महत्वपूर्ण सम्झौता गरेको छ । यसले त्यहाँको विकास र समृद्धिमा कायपलट ल्याउनेछ ।’
रामाग्राम नगरपालिकाका मेयर धनपत यादव पनि रामग्राम विकासको बृहत पोजेक्ट अगाडी बढ्न लागेपछि औधी खुशी देखिएका छन् । बृहत्त रामग्राम गुरुयोजनाको सुभारम्भ गर्नेदिन नगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो । रामग्राम विकास कोष पनि नगरपालिकाले गठन गरेको छ । त्यसमा राष्टिय बजेट पार्न उनको दौडधुप देखिन्छ ।
‘बृहत गुरुयोजना र रामग्रामलाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्ने काम संघीय सरकारले गर्नुपर्छ । यसको जमिनमुनि फैलिएको भौतिक संरक्षणलाई यकिन गरी संरक्षण गरिनुपर्छ । राष्ट्रियस्तरको कार्यक्रम जुन लुम्बिनीमा हुन्छ, त्यसैगरी कार्यक्रम यहाँ (रामग्राम) पनि हुनुपर्छ । प्रचार प्रसारको पहुच बढाउन आवश्यक छ । संघीय र प्रदेश सरकारको नजर नपरेकोले ओझेलमा परेको हो ।’ रामग्राम नगरपालिकाका मेयर यादव भन्छन्, ‘ अब रामग्रामको विकास र प्रर्वधनमा सहकार्य र सहयोग गर्न आवश्यक छ । लुम्बिनीमा आउने पर्यटकलाई यहाँसम्म ल्याउन लुम्बिनी विकास कोष र सरकारले पहल गर्नुपर्छ ।’
जसले कोरे बृहत्त गुरुयोजनाको नक्शा

बृहत रामग्राम गुरुयोजनाको मास्टरप्लान बनेपछि पोजेक्टको नक्सांकन आर्किटेक्ट स्टेफानो बोइरीले गरेका छन् । उनी शहरी योजना र बास्तुकारका रुपमा प्रख्यात आर्किटेक्ट हुन् । उनले अन्तराष्ट्रियस्तरका धेरै परियोजनाहरुको सुन्दर र आर्कषक नक्सांकन गरिसकेका छन् ।
कतिपय स्थानमा उनले पूर्ननिर्माणको क्षेत्रमा रहेर पनि काम गरेका छन् । मध्य इटालीमा भूकम्पपछिको पर्नूनिर्माणका क्रममा बोइरीले नै नयाँ र आधुनिक शहरको परियोजनाको नक्सांकन गरेका थिए ।
उनले एक्स्पो २०१५ को मास्टरप्लानको डिजाइन समेत गरेका थिए । उनीसँग एक्स्पोको लागि आर्किटेक्चर काउन्सिलको एक सदस्यका रुपमा समेत काम गरेको अनुभव छ । उनले नै अहिले रामग्रामको मास्टरप्लानको सुन्दर नक्सांकन गरेका छन् ।
धेरैजसो मानिसहरू धार्मिक स्थलहरूलाई मन्दिर, चर्च वा भवनहरूका रूपमा सोच्छन्, तर रामग्राम यस्तो पवित्र वा ऐतिहासिक स्थाल हो । जहाँ बुद्ध धर्मसँग जोडिएको एउटा यस्तो पवित्र स्थान छ जसमा उनको अवशेषहरू छन्, घाँसले ढाकिएको र एउटा साधारण तर विशिष्ट रूखले माथि उचालिएको एउटा अशोभित थुम्को छ । यसको धार्मिक र ऐतिहासिक महत्व दुवैलाई ध्यानमा राख्दै, मूर्त तर सूक्ष्म तरिकामा यसको भावनालाई प्रवर्द्धन गर्दै यस्तो साइटको संरक्षण गर्न खोजिएको छ’ बोइरी भन्छन्,- ‘यस्तो एउटा योजनाले बौद्ध धर्म र इतिहासको यो मुख्य टुक्रालाई जैविक विविधतासहितको बगैंचामा परिणत गर्छ । जुन लगभग काल्पनिक फिल्मबाट बाहिरको परिदृश्य जस्तो देखिन्छ। यस्तो पोजेक्टको नक्शांकन गर्न पाउनु सौभाग्य ठानेको छु । ’
















EU warns Spain’s migrant regularization must not affect block
स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया