शुक्रबार, वैशाख २५, २०८३

बालकुमारी घटना : यातायातमन्त्रीको आगमनका कारण स्थिति असामान्य बन्याे – गृहमन्त्री

मेरोन्यूज २०८० पुष १६ गते १२:०१

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा  २ जनाको ज्यान जाने गरी शुक्रबार भएको घटनाको  मुख्य कारणका रूपमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दाेष लगाएका छन्।

Advertisement
NiccNicc

युवाहरुले विरोध प्रदर्शन गरिरहेको ठाउँमा मन्त्री ज्वाला नपुगेको भए परिस्थिति असमान्य नबन्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ। 

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सोमबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यातायातमन्त्री ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताए। 

गृहमन्त्री श्रेष्ठले ईपीएस कोरिया शाखा कार्यालयका प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे। आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको श्रेष्ठले बताए।

गृहमन्त्री श्रेष्ठले भने, “अदालतको आदेशमा असाध्यै कन्जरभेटिभ इन्टप्रिटेसनले पनि २८ हजार जनालाई उद्धेलित बनायो,” “पहिला किन परीक्षामा सहभागी हुन नपाउने भन्ने थियो । पछि १८ जनाले पाउँदा हामीले किन नपाउने भनेर युवाहरूलाई आक्रोशित बनायो । यसलाई अदालतले दिएको आदेश र ईपीएस कार्यालयको विवेकसम्मत निर्णय नहुँदा घटना घट्यो ।”

वैदेशिक रोजगारीअन्तर्गत कोरिया जान पानीजहाज क्षेत्रका लागि आवेदन भरेका युवाहरुले कोरियामै उत्पादन क्षेत्रमा पनि काम गर्नका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)को फाराम भर्न पाउनुपर्ने मागसहित शुक्रबार बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए। 

युवाहरुले प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका थिए। स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठी र अश्रु ग्याससँगै गोली समेत प्रहार गरेको थियो। 

प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दा २ जना युवक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो। 

प्रतिक्रिया