सोमबार, चैत २३, २०८२

निश्चित खेलबाट सहकार्य सुरु गरौं : सदस्य–सचिव

मेरोन्यूज २०८० पुष २१ गते ८:२७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउसंगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सदस्य–सचिव घिसिङले झेङ याउको नेतृत्वमा आएको टोलीसंग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका क्रममा सो कुरा बताएका हुन् ।

‘सुरुआतमा केहि निश्चित खेलबाट सहकार्य गर्न चाहन्छौं । कुन कुन खेलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी खाका तयार गरेर फेरि यहाँहरुलाई सम्पर्क गर्छौं ।’ सदस्य–सचिव घिसिङले भने ।

सदस्य–सचिव घिसिङले १९ औं एसियाली खेलकुद सफलतापूर्वक आयोजना गर्नुका साथै टिम च्याम्पियन बन्न सफल भएकोमा बधाइ दिदै झेजियाङ प्रदेशले खेलकुद, आर्थिकलगायत विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुशी लागेको बताए । सदस्य–सचिव घिसिङले चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाल र चीनबीच नेपालमा उमेरसमूहको फुटबल प्रतियोगिता आयोजनाका लागि पनि छलफल भइरहेको स्मरण गराएका थिए ।

निर्देशक झेङ याउले १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिता उत्साहनजक रहेको बताउदै भेटको उद्देश्य खेलकुदमा दुई पक्षबीच कसरी सहयोग आदान प्रदान गर्न सकिन्छ भन्ने रहेको बताए । उनले झेजियाङ प्रदेशका खेलाडीले ओलम्पिकलगायत महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको बताउदै छलफललाई निरन्तरता दिदै नेपाली खेलकुदलाई सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

भेटका अवसरमा झेङ याउको नेतृत्वमा आएको ९ सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया