दुर्गन्धित हुँदैछन् कालीगण्डकीका घाट

पर्वत । पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन्। शव दाहस्थल र गङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएका हुन्।
पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका–६ मा रहेको जैमिनी घाट, गुल्मी र पर्वतको सङ्गमा रहेको पूर्तिघाट तथा विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणीलगायतका घाटमा फोहोर थुप्रिन थालेको छ।
मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले प्लाष्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताए। साथै कतिपय जातिमा शव नजलाउने र ढुङ्गाले पुरेर छाड्ने प्रचलनले पनि दुर्गन्ध फैलिएको उनको भनाइ छ।
त्यस्ता शवका कारण गर्मी मौसममा अत्यधिक दुर्गन्ध फैलिने गरेको उनले बताए। ‘केही शव बेवारिसे अवस्थामा पनि घाटमा भेटिन्छन्’, उनले भने, ‘मलामी र भक्तजनहरुले सामग्री जथाभावी फ्याँक्दा नदी किनार फोहोरले भरिन थालेको छ।’
मोदीवेणी घाटमा दैनिक पाँचवटासम्म शव जलाइन्छ। घाट दुर्गन्धित हुन थालेपछि पछिल्लो समय घाट सरसफाइका लागि पहल सुरु भएको अध्यक्ष बैरागीले बताए। फोहोर अत्यधिक भएपछि घाट व्यवस्थापन समितिले निश्चित शुल्क लिएर सरसफाइका लागि कर्मचारी नियुक्ति गर्ने तयारी गरेको उनको भनाइ छ।
फलेवास वडा नं ६ र बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरास्थित जैमिनीघाट, पूर्तिघाट र सेतीवेणीमा पनि फोहोरको अवस्था उस्तै छ। व्यवस्थापन समितिको उदासिनताले पनि धार्मिकस्थल र घाटमा फोहोर बढ्दै गएको माघे सङ्क्रान्तिमा स्नानका लागि सेतीवेणीधाम पुगेका पैँयू गाउँपालिका–५ का वडाध्यक्ष नारायण भुर्तेलको भनाइ छ।
सेतीवेणीमा नयाँ व्यवस्थापन समिति गठन हुन ढिलाइ भएकाले समस्या देखिएको विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मनबहादुर बस्यालको दाबी छ। उनले अब केही दिनमा नयाँ व्यवस्थापन समिति बनेपछि फोहोर व्यवस्थापनको कामसमेत गरिने बताए।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशवाट शिला संरक्षणका लागि पाँच लाख विनियोजन भएको भन्दै व्यवस्थापन र निर्माण समिति तत्काल गठन गरेर काम थाल्ने उनको भनाइ छ।
त्यसैगरी मोदीवेणी वृद्धाश्रममा ३० वर्षदेखि बस्दै आएकी सावित्री शर्माले आफूहरुले पटक–पटक शवको उचित व्यवस्थापन गर्न आग्रह गर्दा पनि अटेर भइरहेको बताइन्। कालीगण्डकी नदीको पर्वत खण्डमा पर्ने गोपाङ्घाट, नयाँ पुल, अर्मादी, मालढुङ्गा, खनियाघाट, मिलनचोक र वारीबेनीमा रहेको घाटमा पनि दाहसंस्कार गरिन्छ।










देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया