बिहीबार, माघ २९, २०८२

नक्कली मदिरा उत्पादन गरी कालोबजारी गर्ने ९ जना पक्राउ

मेरोन्यूज २०८० माघ ३ गते १५:१२

काठमाडौं । नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली रक्सी बजारमा पठाउने गरेको गुनासा र गोप्य सूचना प्राप्त भएपछि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

मंगलबार प्रहरीले काठमाडौंको मनोहरा नगरपालिका ५ थलीस्थित भरत थापाको घरमा डेरा गरी बस्ने विनोदकुमार कार्कीको कोठाबाट नक्कली रक्सी बनाउने सामग्री बरामद गरेको थियो।

पक्राउ पर्नेहरुमा रामेछाप, खाँडादेखि गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक, चौताराका २७ वर्षीय मोहन खड्का, सिन्धुली, कमलामाई नगरपालिका-९ का २८ वर्षीय गौरव तामाङ रहेका छन्।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा-९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुली, कमलामाई नगरपालिका- ७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका- ३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोक, चौताराका १८ वर्षीय रोशन कार्की र रामेछाप, खाँडादेवी- २ का २० वर्षीय मनिष खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि खुकुरी रम, डबल ब्ल्याक, ब्ल्याक लेभल, गोल्डेन ओकलगायत ब्राण्डका रक्सीको नक्कली बनाएको आरोप छ।

प्रतिक्रिया