आइतबार, वैशाख २०, २०८३

उपेन्द्र यादवलाई सिके राउतकाे आरोप- गौर नरसंहार गर्नेहरु सप्तरीमा दङ्गा मच्चाउन खोज्दैछन्

मेरोन्यूज २०८० माघ ७ गते १८:३०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादव शिलान्यासको नाममा दंगा फैलाउन आउन लागेको आरोप लगाएका छन्।

Advertisement
NiccNicc

उपेन्द्रलाई लक्षित गर्दै उनले भनेका छन्, ‘गौर–नरसंहार गरेर दर्जनौंको निर्मम हत्या गरेका मान्छे सप्तरी मेरो क्षेत्रमा दंगा मचाउन, हत्याहिंसा गर्न किन आउनु पर्ने ? न उहाँको यहाँ घर छ, न उहाँ यहाँको जनप्रतिनिधि। अनि किन उपकुलपति र रजिस्टारलाई जबरजस्ती दबाब दिएर प्रमुख अतिथि बन्नु पर्ने ? अतिथि बन्न पनि यति मरिहत्ते हुन्छ ? यस्तो पनि नीच स्तरको राजनीति हुन्छ ? मान न मान मैं तेरा मेहमान ?’

अध्यक्ष राउतले २०६३–६४ सालमा उपेन्द्रकै नेत्तृत्वमा दंगा मच्चाएर गैर हत्याकाण्ड भएको आरोप लगाएका छन्।

‘२०६३–६४ सालमा उहाँकै नेत्तृत्वमा यहाँ यस्तै दंगा मच्चाइयो, काटमार गरियो, कतिको बलात्कार पनि गरियो। परिणामस्वरूप कति रैथानेहरू, व्यापारीहरू, मारवाडीहरू, उद्योगीहरू, शिक्षाविद्हरू, बुद्धिजीवीहरू सप्तरीबाट आफ्नो पुर्खौली थाकथलो बेचेर पलाएन हुन बाध्य भए। यसले गर्दा सप्तरी खण्डहरमा नै परिणत भयो। र अझै पनि त्यही षड्यन्त्र गर्न खोज्दैछन् तिनै द्वन्द्वउद्यमीहरू’ उनले भनेका छन् ।

अध्यक्ष राउतले शिलान्यास गर्न आफूहरुले नरोकेको उल्लेख गर्दै विश्वविद्यालयको ऐन अनुसार प्रदेशका शिक्षा मन्त्रीले गर्नुपर्ने बताएका छन्।

‘शिलान्यासको नाममा उहाँ यहाँ दंगा र अशान्ति फैलाउन आउँदै हुनुहुन्छ। गाउँगाउँमा लडाकूहरू ल्याएर राखेका छन्, बाँसका भाटा र हतियारहरू बनाएर राखेका छन्। सरकारले अविलम्ब गौर–नरसंहारका प्रमुख योजनाकार तथा पात्रलाई गिरफ्तार गरोस् र सप्तरीमा शान्ति सुव्यस्था कायम गरोस्। प्रशासनसँग आग्रह छ’ अध्यक्ष राउतले भनेका छन् ।

प्रतिक्रिया