बर्दिबासामा सडक खाना महोत्सव

महोत्तरी। आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो।
पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्गको सङ्गमदेखि बीपी राजमार्गतिर पाँच सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिएको छ। विभिन्न थरीका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग र अत्यन्त चल्तीको बिपी राजमार्ग (बर्दिबास–सिन्धुली–बनेपामार्ग)को सङ्गममै सुरु गरिएको महोत्सवले बर्दिबासको परिचय विस्तार, यहाँको पर्यटन पूर्वाधारबारे चासो र स्थानीय रैथाने परिकारबारे अभिरुचि बढाउन सहयोग पुग्ने आयोजक संस्थाको अपेक्षा छ।
‘मुख्य कुरा हाम्रा स्थानीय सम्भावनाबारे आम चासो बढाउने हो, चुरेकाछ अवस्थित बर्दिबास नगर क्षेत्र भित्रका पर्यटकीय सम्भावनाका क्षेत्रबारे खोजबिन गर्न महोत्सवले सघाउ पुर्याउने हाम्रो विश्वास छ,’ सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्की भन्छन्, ‘महोत्सवमा हामीले पस्कने परिकार, तिनको मौलिक स्वाद र हाम्रो सेवाले खानपिन र बसोबासका लागि बर्दिबास उपयुक्त ठाउँ हो भन्ने सन्देश दिनसके हाम्रो अभिष्ट पूरा हुन्छ।’
महोत्सवमा सिद्रा, घोङी, माछाको सुकुटी, सिस्नु, टिम्बुर, गुन्द्रुक, तामा, गेडागुडी लगायतका स्थानीय परिकार, छेनाको जिलेवी, विभिन्न मिष्टान्न परिकार, नेवारी खाजा सेट र अन्य मुलुकका लोकप्रिय परिकारका स्टल राखिएका छन्।
सोमबारसम्म चल्ने महोत्सवमा व्यवसायी मात्र नभएर निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास–११ खयरमाराका होटल म्यानेजमेन्ट तथा फुड एण्ड डेरी विषयका विद्यार्थी, नाथम बर्दिबास (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, बर्दिबास) र माध्यमिक विद्यालय बर्दिबास–८ हाथीलेटका होटल व्यवस्थापन विषयका छात्रछात्राले छुट्टाछुट्टै कक्ष सञ्चालन गर्दै महोत्सव अवलोकनकर्तालाई नयाँ स्वाद चखाइरहेका छन्।
महोत्सवमा ५० कक्ष छन्। प्रत्येक कक्षले भिन्नभिन्न परिकार तयार गर्ने हुँदा कक्षपिच्छे अवलोकनकर्ताले भिन्न परिकार हेर्ने र चाख्ने अवसर पाएका छन्। महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मधेसको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिएको सङ्घका महासचिव नारायण घिमिरे बताउँछन्।
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया