गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

म्याग्दी। पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा समुद्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनेको घोडेपानीमा रमाउने पर्यटकको घुइँचो लागेको छ ।
“लालीगुराँस फुलेर ढकमक्क बनेको घोडेपानी घुम्न आएका स्वदेशी र विदेशी पाहुनाले यहाँका साना ठूला होटल भरिभराउ भएका छन्”, घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले भने, “विद्यालय, एसइईको वार्षिक परीक्षा सकेर फुर्सदिला भएका शिक्षक विद्यार्थीदेखि नयाँ वर्ष मनाउन गुराँसको सौन्दर्यमा रमाउन जागिरे र व्यवसायी यहाँ आउनुभएको छ ।”
सत्ताइस वटा होटल रहेको घोडेपानीमा दैनिक एक हजारजना बास बस्न सक्छन् । साना ठूला सबै होटलमा पाहुनाले भरिएका उपाध्यक्ष पुनले बताए । जाडो हटेर वनजङ्गलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न पाउँदा रमाइलो महसुस भएको घोडेपानी घुमेर फर्किएका मङ्गला गाउँपालिका–५ का करन कँडेलले बताए ।
विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए ।
“वनैभरि राताम्मे फुलेका गुराँसका रङ्गले घोडेपानी क्षेत्रको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ”, उनले भने, “गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।” बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा गएका छन् । बेनीबाट आठ जनाको समूहमा घोडेपानी घुम्न गएका अस्मिता केसीले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जङ्गलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताए ।
गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी अस्मिता खरेलले अनुभव सुनाए । फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फूल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए ।
एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ ।
समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।
















सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल
HPV vaccination campaign for girls across the country begins today
Driver killed in road accident
25 days to HoR elections: Call to not violate voters’ confidentiality
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
प्रतिक्रिया