सोमबार, फागुन २५, २०८२

धुलिखेल अस्पतालमा टेष्ट ट्युब बेबीभन्दा निकै कम खर्चमा आईयूआई सेवा सुचारु (भिडियाे)

काठमाडौं । सबैका लागि गुणस्तरीय स्वास्थ्यसेवा’ भन्ने महत्वाकांक्षा सहित स्थापित धुलिखेल अस्पतालले केहि सेवा थप गरेको छ भने भएका सेवाहरुको स्तरोन्नती गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

धुलिखेल अस्पतालमा भएका थप गरिएका सेवाका बारेमा तथा स्तरोन्नती गरिएका सेवाका बारेमा सर्वसाधारणलाई जानकारी गराउने उदेश्यले सोहि विषयमा जानकारी गराईएको प्रवक्ता प्रा.डा. सुमन ताम्राकारले बताएका छन् ।

अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा नाम दर्ता, ल्याब टेष्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन रिफिलिङ, अस्पताल परिसरमा विरामीमैत्री पार्किङको व्यवस्थापन, प्लाष्टिक फ्रि वातावरण, इमर्जेन्सीका विरामीका लागि फास्ट ट्रायक सेवाको व्यवस्था गरिएको छ ।

यी सेवा सुधारबाट सेवाग्रहीहरुले विगतमा भन्दा केहि सहजता महशुश गरिरहेको बताएका छन् ।अस्पताल परिवारले अझै सेवालाई सहज र सरल बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरेको छ ।

अस्पतालका प्रशासकीय निर्देशक डा.विराजमान कर्माचार्यले सेवालाई सरलिकृत र सहज बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरे ।

विधागत रुपमा नाक, कान, घाँटी विभाग अन्तर्गत कानसम्बन्धी नवजात शिशुलाई अस्तालबाट डिस्चार्ज गर्नु अगाडी हियरिङ स्क्रिनिङ, कान कम सुन्ने सेवाग्रहीहरुका लागि आवश्यक हियरिङ एडसम्बन्धी सम्पूर्ण सेवा दिईंदै आएको छ भने निकट भविष्यमा ‘कक्लियर ईम्प्लान्ट (कान नसुन्नेहरुका लागि प्रविधीजन्य जडान)’ सेवा शुरु गर्न लागिएको ईएनटी विशेषज्ञ प्रा.डा.विकासलाल श्रेष्ठले बताए ।

स्त्रीरोग विभाग अन्तर्गत बाँझोपनको समस्या भएकामध्येलाई फाईदा पुग्ने गरी आईयूआई (ईन्ट्रायुटेराईन ईन्सेमिनेसन) सेवा पुनः सुचारु गरिएको निर्देशक कर्माचार्यले बताए ।

आईयूआई प्रविधी अन्तर्गत पुरुष पार्टनर अर्थात् श्रीमानको विर्यलाई प्रोसेसिङ गरेर महिला पार्टनर अर्थात् श्रीमतीको पाठेघरमा राखिन्छ ।

केही हप्ता अगाडि मात्र संचालनमा ल्याएको उक्त सेवाबाट कतिपय सेवाग्रहीमा सकारात्मक नतिजा देखिएको छ ।

टेष्टट्युब बेबीभन्दा निकै कम खर्च र कम झन्झटमै गर्न सकिने उक्त प्रविधीबाट काभ्रे जिल्ला आसपासका सेवाग्रहीहरु लाभान्वित हुने लक्ष्य राखिएको छ ।

स्त्री रोग विशेषज्ञ डा. रुपेश सिंह बस्न्यातले उक्त सेवाले सन्तान नभएका अधिकांश अभिभावकहरुलाई सहज हुने बताए ।

तीन महिनाभन्दा लामोसमयसम्मको मानव शरीरको दुखाईलाई दीर्घकालीन अर्थात् जीर्णखालको दुखाईको कोटामा राखिन्छ । धुलिखेल अस्पतालमा दीर्घकालीन दुखाई प्रताडितहरुका लागि ‘डेकेयर पेन क्लिनिक’ संचालनमा ल्याएको छ ।

उक्तसेवाबाट सेवाग्रहीहरु लाभान्वित भएको प्रारम्भिक नतिजा प्राप्त भैरहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालमा कार्यरत एनेस्थेसिया विशेषज्ञ डा. समिर शाक्यका अनुसार उक्त रोगबाट पीडितहरु उक्त सेवाबाट लाभान्वित हुनेछन् ।

डेन्टल विभाग अन्तर्गत मेडिकल थ्रीडी प्रिन्टिङ सेवा थालनीसँगै दन्तसम्बन्धी उपचार शुरु भएको छ ।

विगतमा नाङ्गो आँखा, शारीरिक परीक्षण एवं एक्सरे, सीटी स्क्यानमा भर परेर पु¥याउँदै आएको सेवामा मेडिकल थ्रीडी प्रिन्टिङको नौलो प्रविधीसँगै मानव शरीरभित्रको प्रभावित भागको ठ्याक्कै प्रतिलिपी उतार गरेर उपचार (विशेषतः शल्यक्रियाजन्य) सेवाले सेवाग्राहिहरुलाई सहजता भएको छ ।

स्वास्थ्यसेवाको गुणस्तरमा त्यसले थप फाईदा पुगेको बताईन्छ । डेन्टल उपचारका लागि परिकल्पना गरिएकोउक्त प्रविधीबाट हाडजोर्नी एवं ईएनटी विभागमा पनि सहजता भएको डेन्टल सर्जन प्रा.डा. दशरथ काफ्लेले बताएका छन् ।

धुलिखेल अस्पतालमा ल्याब परीक्षण अन्तर्गत हेमाटोलोजी, माइक्रोबायोलोजी, बायोकेमेष्ट्री परीक्षणमा निकै अत्याधुनिक सेवाहरु थप गरिएको छ । कोभिड महामारीको बेला पीसीआर सेवाबाट नेपाली स्वास्थ्य क्षेत्रमा अभूतपूर्र्व सेवा दिन सफल उक्त अस्पतालमा हालै उपलब्ध डीएनए परीक्षण सेवा अर्को उदाहरण हो ।

विगतमा छिमेकी देश तथा अन्य मुलुकमा पठाउन बाध्य कतिपय टेष्टहरु अहिले यहीँ सम्भव भएको बायोकेमेष्ट्री एक्स्पर्ट डा। ज्योती श्रेष्ठले बताईन् ।

त्यसैगरी धुलिखेल अस्पतालमा नियमित रुपमा अन्कोलोजी सेवा संचालन भैरहेको छ । अन्कोलोजी भन्नाले मेडिकल क्षेत्रमा उपलब्ध पछिल्लो प्रमाणिक जानकारीको आधारमा दिइने औषधीजन्य उपचार सेवा हो ।

अन्कोलोजी सेवा अन्तर्गन कतिपय क्यान्सररोगीहरुका लागि आवश्यक केमोथेरापी शल्यक्रियापूर्व एवं शल्यक्रिया पश्चात् पनि यसै अस्पतालमा दिईंदै आएको छ । धुलिखेल अस्पतालमा क्यान्सरको आशंका गरिएका विरामीको अपरेशनको बीचमै मासु जाँच गरेर क्यान्सर रोग निदान गर्ने प्रविधि (फ्रोजन सेक्सन) उपलब्ध छ ।

क्यान्सर रोगीहरुका लागि आवश्यक शल्यक्रिया, फिजियोथेरापी, नर्सिङ्ग सेवा, परामर्श सेवा उपलब्ध गराईएको प्रा.डा.बलराम मल्लले जानकारी दिए ।

अस्पतालमा एचडीयू (आईसीयू भन्दा एक तहमुनिको हाई डेपेन्डेन्सी युनिट) अन्तर्गत बेडसंख्यामा वृद्धिका साथै गुणस्तरीयताका लागि आवश्यक स्तरीकरण गरिएको निर्देशक कर्माचार्यले बताए ।

प्रतिक्रिया