बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव

जानकी (बाँके) । पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै र रक्तदान कम भएकाले रगत पु¥याउनै समस्या भइरहेको उनले बताए । “रक्तसञ्चार केन्द्रमा विभिन्नरुपका एक सय ५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात छ”, उनले भने, “खासगरी चाडपर्व र अत्यधिक गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गर्दछ ।”
रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीका अनुसार रक्तदानका भरमा रहेको ब्लड बैंकमा मागअनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपरेको छ । “आवश्यक रगत मौज्दात नहुँदा बिरामीका आफन्तलाई नै ल्याऊ भन्नुपरेको छ”, उनले भने, “आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा र बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्दा समस्या भइरहेको छ ।”
थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमितरूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । ठूलो घटना वा दुर्घटना भएको अवस्थामा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढाएको केन्द्रका प्रमुख रेग्मीको भनाइ छ ।
रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ । नेपालगञ्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले नेपालगञ्जस्थित ब्लड बैंकमा हाल तीन हजार पिन्टभन्दा बढी रगत मौज्दातको क्षमता विस्तार भए पनि त्यसअनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको बताए ।
नेपालगञ्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा १६ हजार सात सय ८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९/८० मा १८ हजार सात सय ५७ पिन्ट रगत वितरण गरेको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको रक्तसञ्चार केन्द्र जनाएको छ ।
















देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया