शनिबार, वैशाख ६, २०८२

किन झ्याप्प झ्याप्प जान्छ बत्ती ? (भिडियाेसहित)

नारायणगढ । देशको तराई देखि पहाडी भागसम्म यतिबेला ज्यादै गर्मी छ । गर्मीको समयमा हामी घर तथा अफिसमा बढी मात्रामा विद्युत खपत हुने पंखा, कुलर एसी, मोटर आदी प्रयोग गर्दछौं । तर छिन छिनमा हुने विद्युत अवरोधले यी कुराहरुको अवरोध त हुन्छनै यसको साथै घर तथा कार्यालयका अन्य काम समेत प्रभावित हुन जान्छ ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र प्रसाद पौडेलका अनुसार यसरी झ्याप्प झ्याप्प बिद्यत अवरुद्ध हुनु लोड सेडिङ होइन । उनी भन्छन्, “जसरी पहिले लोड सेडिङ हुने गर्दथ्यो, लोड छायाँमा पारीन्थ्यो र पालैपालो गरेर यताको र उताको लोड मिलाउने काम गर्दा लोड सेडिङ हुन्थ्यो ।”

उनले विगतमा विद्युत उत्पादन कम हुँदा लोड छायँमा पार्नका लागि पालैपालो स्टेशन बाटै काटिएका कारण लोडसेडिङ हुने गरेको तर हिँजोआज झ्याप्प लाइन जाने अवस्था लोडसेसडङ नभएको जानकारी गराए । हिँजोआज आक्कलझुक्कल जाने लाइन लोडसेडिङ नभएको भन्दै उनले भने, “हामी विद्युतमा आत्मनिर्भर भैसकेको अवस्था छ ”।

विभिन्न पावर हाउसमा उत्पादन भएका विद्युतको ट्रासमिसन लाइन प्रसस्त नहुनु , प्रशारण लाइन पुरानो हुनु, १३२ केभीमा सिंगल सर्किट १०० मेगावाट मात्रै लाइन हिनाउन सकिने हुँदा पनी विद्युतमा अवरोध आउन सक्ने उनले जानकारी दिए । उनले आज २५०० मेगावट विद्युत राख्ने क्षमता विकास भएको भन्दै यथेस्ट ट्रासमिसन लाइन बृद्घि गर्न सकिएमा सिस्टम डेलिभरी बढाउन सकिने बताए ।

झ्याप्प बिद्यत अवरुद्ध हुने सम्वन्धमा इन्जिनियर पौडेल भन्छन्, “उत्पादनबाट ग्राहककोमा आउँदा प्रणालीमा असन्तुलन भएमा सिस्टम जाने एउटा कुरा भयो अर्को कुरा सव स्टेशनका फिडर लाइनहरुमा ओभरलोड हुनु हो ।” विद्युत प्रशारण गर्ने धेरैजसो लाइनहरु ओभरहेड प्रणालीमा आधारीत हुँदा लाइनमा रुख पाता हाँगालगायत अन्य कुराहरुले अवरोध गर्दा समस्या आउन सक्ने उनले बताए ।

झ्याप्प बिद्युत अवरुद्ध हुने धेरै कारणहरु हुने हुँदा तत्काल यही कारणले गर्दा भन्न नसकिने अवस्था आउने उहाँ बताउनुहुन्छ । विद्युतको कुरा प्राविधिक कुरा हुँदा बिस्तारै सुधार हुँदै जाने उनको भनाई थियो । “अहिलेको हाम्रो उद्देश्य भनेको झ्याप्प बिद्युत अवरुद्ध हुने कारणको न्यूनिकरण गर्ने हो ।” उनले भने । प्रणलीलाई सुदृढीकरण गर्दै लैजाने पोल सिस्टम भन्दा भूमिगत तारबाट प्रशारण गर्दा यसको समस्या न्यूनिकरण हुने भन्दै पौडेलले विद्युत उपभोक्ताहरुले आफ्नो घर वरपर कुनै समस्या देखेमा विद्युत कार्यलयमा जानकारी गराउन अनुरोध गरे । उनले सूचना समयमानै दिएमा छिटो समस्याको समाधान हुने बताए ।

घरमा बढी विद्युतीय सामाग्रीहरुको प्रयोग गर्दा लाइन जान्छ भन्ने उपभोक्ताहरुमा भ्रम रहेको भन्दै घरमा बढी विद्युत उपभोग गर्दैमा लाइन नजाने उनले बताए । उनले भने, “हामी विद्युत बढी उत्पादन भएर धेरै प्रयोग गर्नुस भन्ने अवस्थामा छौं ।” उपभोत्ताहरुले विद्युत उपभोग गर्ने तरिकामा एकरुपता नआउँदा भने सन्तुलनमा भने केही असर पर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया