सोमबार, फागुन २५, २०८२

बैतडीमा ७ उम्मेदवारको जमानत जफत

मेरोन्यूज २०८२ फागुन २५ गते १७:५४

बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो । खसेको सदर मतको १० प्रतिशत कटाउन नसक्ने एक स्वतन्त्रसहित सात जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले दुई हजार ६८१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रामबहादुर कुँवरले २९९, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालले समान ९४-९४, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरे ।

उनीहरूको सबैको जमानत जफत गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

आइतबार सम्पन्न भएको निर्वाचनमा ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए । तीमध्ये ६७ हजार ७३० मत सदर खसेको सूचना अधिकारी दयालले बताए । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरुको जमानत जफत गरिएको उनले जानकारी दिए ।

आइतबार सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया