गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन

गुल्मी । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यावसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।
काठमाडौँमा स्नाकोत्तर तह अध्ययन पूरा गरेपछि गाउँ फर्केर तीन वर्षदेखि घिमिरे व्यावसायिक रूपमा कृषि कर्ममा लागेका छन् । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ काठमाडौँबाट गाउँ फर्किएको उनले बताए। उनले उन्नत जातका भैँसीपालनबाट दैनिक चार सय लिटर दूध सङ्कलन गरी बिक्री गरिरहेको जानकारी दिए ।
स्थानीय उपभोक्ता, सङ्कलक र उत्पादकलाई थप सहयोग पु¥याउने उद्देश्यले किसानलाई ‘बायोकेमिकल मिल्क एनलाइजर मेसिन’ उपलब्ध गराइएको केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले बताए । उनका अनुसार उक्त मेसिनबाट दूधको शुद्धतासँगै दूधमा पाइने प्रोटिन, लैक्टोज (दूधमा पाइने चिनीको मात्रा), पानीको मात्रा लगायत अन्य तत्व र गुणस्तर मापन गर्न सकिने छ ।
उक्त मेसिनबाट किसानलाई दूधको मूल्य निर्धारण गर्न र गुणस्तर मापन गर्न सजिलो हुने पशु चिकित्सक डा नवीना ढकालले बताए । दूधमा पानी र स्टार्च (माड) लगायत तत्वको मिसावट हुनेभएका ले दूधको गुणस्तर सुनिश्चित गर्न मेसिन उपयोगी हुने उनको भनाइ छ ।
गुल्मीमा हालसम्म पाँच स्थानमा मिल्क एनलाइजर वितरण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ स्थित बस्नेत डेरी उद्योग, सत्यवती गाउँपालिका–६ स्थित श्रीकृष्ण डेरी पकेट समूह, सत्यवती गाउँपालिका–५ अन्तर्गत सत्यवती दुग्ध उत्पादक सहकारी संस्था र रुरु क्षेत्र गाउँपालिकाको बम्घा दुग्ध उत्पादक सहकारीलाई मिल्क एनलाइजर वितरण गरिएको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा वार्षिक रूपमा २२ हजार दुई सय ५८ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुने गर्दछ भने बाँकी २० प्रतिशतमात्र बिक्री हुने गरेको पाण्डेले जानकारी दिए ।















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया