बुधबार, चैत ११, २०८२

सुनसरीमा घट्यो आँप उत्पादन

मेरोन्यूज २०८१ असार २१ गते १०:४१

धरान(सुनसरी) । जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए।

Advertisement
nepal life insurencenepal life insurence

उनले भने, “ कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो । उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ ।” गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उनले बताए ।

केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ । गत वर्ष एक हजार एक सय २४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन् । अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ ।

जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताए । आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ ।

प्रतिक्रिया