बुधबार, चैत ११, २०८२

सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी

मेरोन्यूज २०८१ साउन ५ गते १५:३३

सिराहा । जिल्लाको सिराहा नगरपालिका-१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सिराहा भन्सारले कार्यालयले गत आर्थिक वर्षमा रु नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालयले रु ४६ लाख ५० हजार तीन सय ७४ गरी रु नौ करोड ९२ लाख ५८ हजार तीन सय ७४ राजस्व सङ्कलन गरेको सिराहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए । कार्यालयले गत आवमा रु ११ करोड ९९ लाख ५५ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो ।

सापकोटाका अनुसार आव २०८०र८१ मा राजस्व चुहावट, चोरी पैठारी रोक्न नियमित भन्सार गस्तीबाट छ सय ११ मुद्दा चलाई रु पाँच करोड ६८ लाख १३ हजार ३१ असुली भएको छ । तीमध्ये भन्सार गस्तीबाट ३३, सशस्त्र प्रहरीबाट चार सय ९० र जनपथ प्रहरीबाट ८८ मुद्दा दर्ता भई सो रकम असुली भएको हो । चालु आवमा रु १२ करोड १२ लाख ९२ राजस्व उठाउने लक्ष्य भन्सार कार्यालयले पाएको छ ।

भन्सार कार्यालय प्रमुख सापकोटाले गत वर्षको राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताए । “भारततर्फ जयनगर बजार जाने बाटो स्तरीय नरहेकाले ठुला गाडीमा व्यापारिक र औद्योगिक वस्तुको आयात नहुँदा पनि राजस्व असुलीमा असर परेको हो”, उनले भने ।

आव २०७९/८० मा रु १९ करोड ९५ लाख ४६ हजार राजस्व असुल गर्ने लक्ष्य लिएकामा रु नौ करोड ३६ लाख १० हजार मात्र सङ्कलन भएको थियो । चोहरर्वा–सिराहा खण्ड विस्तार ढिलाइ हुँदा यस क्षेत्रको व्यापारमा असर परेको सापकोटाको बुझाइ छ ।

प्रतिक्रिया