बिहीबार, चैत १९, २०८२

काँचो स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला

मेरोन्यूज २०८१ साउन २५ गते ११:०९

जुम्ला । तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी स्याउ सङ्कलन गरेका व्यापारीका गोदाममा ताला लगाइएको उनले बताए । यसअघि गाउँपालिकाले आगामी भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न तथा काँचो स्याउ नटिप्न सूचना जारी गरेको थियो ।

स्याउ बिक्री गर्न व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने गाउँ कार्यापालिकाबाट निर्णय गरिएको उपाध्यक्ष बुढाको भनाइ छ । लुकिछिपी स्याउ बिक्री भइरहेको सूचना प्राप्त भपछि स्याउ भण्डार गरिएका ६ गोदाम सिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिए ।

तिलाका विभिन्न वडा तथा बस्तीमा पालिकाको निर्णयविपरीत स्याउ सङ्कलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको रारालिही प्रहरी चौकीका इन्चार्ज टिबी घर्तीमगरले बताए। कृषि विकास कार्यालय जुम्लाले पनि सार्वजनिक सूचनामार्फत काँचो स्याउ बजारमा नपठाउन जिल्लाका किसान र व्यापारीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया