प्रचारप्रसारको अभावमा बाँकेको ‘सुतैया ताल’ ओझेलमा

जानकी । बाँकेको वैजनाथ गाउँपालिका–३ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘सुतैया ताल’ ओझेलमा परेको छ । बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले रमणीय र मनमोहक भए पनि आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।
प्रायः हिउँदमा निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरु यहाँ पानी पिउन आउने गरेका छन् । यसरी पानी पिउन आएका वन्यजन्तुलाई घरआँगनबाट नै हेर्न पाइने भएकाले सो समय अत्यन्त मनमोहक हुने स्थानीय बताउँछन् ।
स्थानीय रामबहादुर थापाले निकुञ्जबाट ‘सुतैया ताल’मा पानी पिउन आउने वन्यजन्तु हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गए पनि प्रचारप्रसारको अभावमा सो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरे । ‘यहाँ विभिन्न प्रजातिका वन्यजन्तु पानी पिउन आउँछन् । दुर्लभ वन्यजन्तुको यहाँ सहज रूपले आवतजावत हुन्छ’, उनले भने, ‘विशेष गरेर हिउँदका समयमा खडेरीले निकुञ्जमा डढेलो लाग्दा धेरै जनावर यहाँ पानी पिउन आउने गरेका छन्, यो दुर्लभ दृश्य हेर्न पर्यटकलाई आकर्षित गर्न जरूरी छ ।’
बाँकेको कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा पर्ने रत्न राजमार्गको छेउमा अवस्थित यस ताललाई स्थानीय बासिन्दाले विगत एक दशकदेखि निरन्तर रूपले संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् ।
‘देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह’ मार्फत स्थानीयले तालको संरक्षण, सम्वर्द्धन गर्दै आएका वन समूहका पूर्वध्यक्ष महेन्द्र थारुले बताए । ‘विगत एक दशकदेखि स्थानीयले ताल संरक्षण गर्न सुरू गरेका हौँ, हाल यहाँ निकुञ्जका वन्यजन्तु पानी पिउन आउने गरेका देखेर हामी उत्साहित छौँ’, उनले भने, ‘ताललाई वरिपरि घना जङ्गलले घेरेको हुनाले वन्यजन्तुका लागि पानी पिउन उपयुक्त स्थान बन्न पुगेकाले यहाँ विशेषगरी पाटेबाघ, चित्तल, बँदेललगायत वन्यजन्तु यहाँ आउने गर्दछन्।’
ताल संरक्षणसँगै आम्दानी बढाउने पर्यटकीय गतिविधि गर्न सकिने सम्भावना भए पनि स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोतसाधन अभावका कारण तालमा पर्यटकीय गतिविधि बढाउन नसकेको उनको भनाइ छ ।
‘ताल अवलोकन गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् तर यहाँ पर्यटकलाई बसाउने र खुवाउने पूर्वाधार बन्न सकेका छैनन् । त्यसैले संक्षरणका लागि राज्यले ध्यान नदिँदा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तालको सौन्दर्य नै ओझेलमा परिरहेको छ’, पूर्वअध्यक्ष थारू भन्छन् ।
यहाँ ताल संरक्षण र पर्यटन पूर्वाधार विकासका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने स्थानीयको माग छ । उक्त ताल बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको ऐन÷कानुन पनि पर्यटकीय पूर्वाधार निर्माणमा बाधक बनिरहेकोले कानुनी जटिलता हटार यहाँ पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने पश्चिम पर्यटन सरोकार समूहका संस्थापक अध्यक्ष रामबहादुर मल्लो धारणा छ ।
‘सुतैया तालको सम्भावना पर्यटकीय क्षेत्रका लागि अत्यन्तै राम्रो छ तर यहाँ निकुञ्जको ऐन÷नियम बाधक छ’, उनले भने, ‘नेपाल सरकारले आवश्यक समन्वय गरी कानुनी गाँठा फुकाएर पूर्वाधार विकासमा जोड दिनसके तालले आन्तरिक पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा योगदान गर्ने सम्भावना छ।’ तालसँगै यहाँका स्थानीयलाई रोजगारसँग जोडेर होमस्टे, बोटिङ जस्ता पूर्वाधार सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन सकिने उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ निर्माण गरेर ताललाई पर्यटनसँग जोड्ने कामको सुरुआत गरिएको बताए । ‘हामीले तालको डिपिआर तयार गरिसकेका छौ। स्थानीय सरकारसँग सीमित बजेट हुने भएकाले चाहेर पनि धेरै काम गर्न नसकिने अवस्था छैन । त्यसैले सङ्घ र प्रदेश सरकारले बजेट विनियोजन गरेर पर्यटकीय क्षेत्रका रूपमा यसलाई विकास गर्नुपर्छ’, उनले भने । यो ताल करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
















सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया