शनिबार, चैत ७, २०८२

बेनीमा दश वर्षपछि ‘नागिनी लुकाउने’ नाच देखाइ

मेरोन्यूज २०८१ भदौ ४ गते २१:३०

म्याग्दी । म्याग्दीको बेनीमा एक दशकपछि नागिनी लुकाउने नाच देखाइएको छ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल भाषा मंका खःल र ल्याम पुचको अगुवाइमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा करिब एक दशकपछि नाच देखाइएको ल्यामः पुचका पूर्वअध्यक्ष सुवीन श्रेष्ठले जानकारी दिए।

“नागानागिनी नाच बर्सेनि देखाउँदै आए पनि नागिनी लुकाएपछि नागाले देखाउने चरित्रलाई प्रदर्शन गर्ने नृत्य भने एक दशकपछि यसपालि देखाइएको हो”, उनले भने, “नयाँ पुस्ताले यसको महत्त्व बुझ्न र सिकून भनेर धेरै वर्षपछि नाच देखाएका हौं।”

नागानागिनी नाचमा दुुईजना कलाकार आवश्यक पर्छ। दुवै जना पुरुषमध्ये एकजनाले महिलाको कपडा पहिरिएर अभिनय गर्छन्। अनुहारमा मुकुन्डो लगाएका पुरुष कलाकारले धोती लगाउँछन्। जनैपूर्णिमा र गाईजात्राका दिन दिवङ्गत नेवार समुदायको घर अगाडि सापारुसँगै नागानागिनी नाच प्रदर्शन गर्ने चलन छ।

नेवार भाषाको गीत गाएर नाच प्रस्तुत गरिन्छ। बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठका अनुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ। “नागा र नागिनीले एक अर्कालाई माया प्रेममा परीक्षण गर्न खोजेको अभिनय गर्छन्”, उनले भने, “श्रीमान् श्रीमतीबिच विश्वास भयो भने परिवार सफल हुन्छ भन्ने सन्देश नागानागिनी नाचमार्फत प्रवाहको प्रयास हुन्छ।”

नाचका क्रममा नागालाई अरू नागिनीहरूले एक अर्कालाई परीक्षण गर्न आकर्षित गर्न खोज्ने र नागिनी पनि अरू पुरुषसँग नजिकिएको अभिनय गर्छन्। नाचको अन्तिम समयमा नागिनीलाई लुकाइन्छ। दुवै जनाले पारिवारिक अविश्वास सिर्जना भएको महसुस गर्छन् र सम्बन्धलाई सुधार गरेर विश्वास कायम गर्दै नाचको अन्त्य हुने संस्कृतिकर्मी श्रेष्ठले बताए।

नेवार संस्कृतिमध्ये बर्खे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तीजसम्म बेनी बजारमा विभिन्न नाच देखाउने प्रचलन छ। एक महिनासम्म देखाइने बर्खे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई बर्खे नाचमा देखाउने गरिन्छ।

बर्खे नाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश यो नाचबाट दिने गरिएको जानकारहरू बताउँछन्।

बेनी बजारमा तीन सय वर्षअघि बस्ती बसेदेखि नै बर्खे नाच सुरुवात भएको जनाइएको छ। बेनीमा विशेषगरी नेवार समुदायको अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ।

प्रतिक्रिया