फेरिँदै तिज मनाउने शैली

मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ की ६५ वर्षीया गङ्गादेवी पाण्डे तिजको समयमा गाइने पुराना गीत अझै पनि गुनगुनाउछन् । पहिलेपहिले दिदीबहिनी माइतीघरको पिँढीमा जम्मा भएर गाउने गीत उनको मानसपटलमा अझै ताजै छ । तर हिजोआज यस्तो गीत गाउन साथी भेट्नै मुस्किल पर्ने उनले बताए ।
“अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिँदैनन्, तिजका नाचगान अहिले पाटीप्यालेस र होटलमा हुन थालेका छन्”, उनले भने, “कसलाई रङ्ग पुराना तिजको भाकामा, मलाई त यो संस्कार नै हराउने हो कि भन्ने पिर लाग्छ ।”
नेपाली नारीहरूले तिजपर्वलाई महान् चाडका रूपमा लिने गरेका छन् । तिजको अर्को विशेषता नारी वेदना समेटेर गाइने मौलिक गीतलाई पनि लिने गरिन्छ । पहिलेपहिले तिज आएसँगै गाउँघरका दिदीबहिनी एक ठाउँमा बसेर दुःख, वेदनाका गीत गाउने परम्परा रहिआएको थियो । तर पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ ।
तिज नजिकिँदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दुःखसुखका गीत गाउँदै रमाउने गर्थे । आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ । यसका कारण आजभोलिको तिज खल्लो लाग्ने गरेको कावासोती नगरपालिका–१५ की यानुमाया अधिकारीले बताए । साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना यानुमायालाई अस्ति भर्खरजस्तै लाग्छ । तर हिजोआज यस्तो रमाइलो नपाउने गरेको उनको गुनासो छ ।
“गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासिकी बढेको छ, तिजमा आफ्नै सुखदुःख बिर्साउनेभन्दा पनि गीत बजाएर खानपिन गर्नेतर्फ धेरैको ध्यान गएको छ, यो मलाई राम्रो लागेको छैन”, उनले भने ।
स्पिकरमा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने नदिने बताउनुहुन्छ अर्का स्थानीय विनिता डुम्रे । विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव छ उहाँसँग । तर पछिल्लो समय यसमा आएको परिवर्तन उहाँलाई पनि राम्रो लागेको छैन ।
“पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो”, उनले भने, “अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन छ ।”
एक दशकअघिसम्म प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला भई रमाइलो गरेको देवचुली नगरपालिका–१३ दलदलेकी माया केसीलाई अझै सम्झना आउँछ । पहिला गाउँमा हुँदा दिदीबहिनीसँगै सुखदुःखका गीत गाउने, रमाइलो गर्ने गरेको भए पनि गाउँबाट बजारमा बसाइँ सरेपछि त्यो रमाइलो पनि हराएको मायाको अनुभव छ ।
“हामी गाउँमा हुँदा पीडा र वेदनाका गीत पनि गाउँथ्यौँ, विकृति र विसङ्गति पनि गीतमार्फत गाउँथ्यौँ । तिजको गाउँघरमा छुट्टै महत्व हुन्थ्यो”, उनले भने, “पहिले घरको पिँढीमा हुने रमाइलो अहिले पाटीप्यालेसमा सरेको छ । दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा नाच्ने भएका छन् ।”
नेपाली महिलाले तिजपर्वलाई पवित्र पर्वका रूपमा मनाउँदै आए पनि पछिल्लो समय तिज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरूले नै गुनासो गरेका छन् । तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको छ । तिज आउनुभन्दा एक महिना अगाडिबाट दर खाने प्रचलन सहरबजारमा बढेको छ ।
कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आजभोलि होटल र पाटीप्यालेसमा दर खाने गरेको स्थानीय मुना भुसालले बताउनुभयो । दिनप्रतिदिन परम्परागत संस्कृति र संस्कारअनुसारको नेपाली मौलिकपन हराउँदै गएकामा नयाँ पिँढीका महिला पनि चिन्तित छन् ।
















राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
फोटोन टुनल्यान्ड जी७ को युरोपमा ऐतिहासिक सफलता
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया