बुधबार, चैत ११, २०८२

यसरी मनाइयो राष्ट्रिय पुस्तकालय दिवस

मेरोन्यूज २०८१ भदौ १५ गते २०:५८

गण्डकी । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित आज १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । गण्डकी प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालयले पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित उक्त दिवस मनाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

पर्वतको फलेवासमा रहेको मोती सामुदायिक पुस्तकालयले तीज गीत प्रतियोगिता, सरसफाइ सचेतना, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, सम्मान, चित्रकला प्रतियोगितालगायत कार्यक्रम गरी दिवस मनाएको उक्त पुस्तकालयका पुस्तकाध्यक्ष इन्द्र सापकोटाले जानकारी दिए ।

पोखरा सार्वजनिक पुस्तकालय र नेपाल पुस्तकालय सङ्घ गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा कास्की जिल्लास्तरीय चित्रकला प्रतियोगिता आयोजना गरी दिवस मनाएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरी दिवस मनाएको छ ।

कास्कीको दीपशिखा सामुदायिक पुस्तकालयले ‘पठन संस्कृतिमा पुस्तकालयले भूमिका’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितालगायत कार्यक्रम गरी दिवस मनाएको छ । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाएको उक्त पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिए।

दिवसका अवसरमा भदौ ११ गते पुस्तकालय परिसर सरसफाइसहित दिवसको प्रचारात्मक कार्यक्रम, १२ र १३ गते गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनात्मक लेखन कार्यशाला’ आयोजना गरिएको उहाँको भनाइ छ । शुक्रबार ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।

दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तक उपहार, बालविकास केन्द्रका बालबालिका र तिनका अभिभावकको निःशुल्क आँखा जाँच, शैक्षिक सामग्री वितरणलगायत कार्यक्रम गरिएको सचिव शर्माले बताउनुभयो । दिवसको मूल समारोह पारेर आज उक्त पुस्तकालयका पूर्वअध्यक्ष एवं पूर्वपुस्तकाध्यक्ष हरिहर श्रेष्ठलाई ‘दीर्घसेवा सम्मान’ प्रदान गरिएको थियो ।

राणाकालको प्रतिकूल समयमा पुस्तकालय खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा समेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् ।

पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको जनाइएको छ ।

प्रतिक्रिया