शुक्रबार, चैत ६, २०८२

कलिङ्गा साहित्यिक महोत्सव सुरु

मेरोन्यूज २०८१ भदौ २२ गते १९:४४

काठमाडौँ । नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्दनका लागि दुई दिने काठमाडौँ कलिङ्गा साहित्यिक महोत्सव सुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यशस्वी प्रज्ञा प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक एवं साहित्यिक महोत्सवले विश्वलाई जोड्ने भएकाले प्रत्येक वर्ष निरन्तरता दिनुपर्नेमा जोड दिए । सांस्कृतिक अन्तरसम्बन्धले मानिसलाई जोड्ने भएकाले विश्वसम्बन्ध स्थापित गर्न सहज हुने उनको भनाइ थियो ।

भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले पशुपतिनाथ, रामजानकी मन्दिर, लुम्बिनीजस्ता सांस्कृतिक सम्पदामा धेरै भारतीय आउने भारतका धेरै तीर्थस्थलमा पनि धेरै नेपाली जाने भएकाले यस्ता महोत्सवले सम्बन्ध स्थापित गर्ने बताए। नेपालका नेपाली, नेवारी र मैथिली भाषा विश्व साहित्यमै परिचित भएको पनि उनले सुनाए ।

साहित्यकार भुवन ढुङ्गानाले नेपाल र भारतबीचको सम्बन्धलाई दीर्घकालीन रुपमा अघि बढाउन महोत्सवले सहयोग गर्ने बताए । भारतीय साहित्यकार लक्ष्मी मूर्धेश्वर पुरीले नेपाली भाषा भारतको पनि आधिकारिक भएको बताउँदै शक्ति भूमि नेपाललाई सांस्कृतिक केन्द्रका रुपमा स्थापित गर्न सकिने बताए।

कार्यक्रममा आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौलाले दुई देशका लेखक, पाठक, कलाकारलाई एकै ठाउँमा राख्न महोत्सवले योगदान गर्ने बताए । विभिन्न समूहमा छलफल गरी आइतबार सम्पन्न हुने महोत्सवमा दुवै देशका गरी करिब ३०० को सहभागिता रहेको छ ।

प्रतिक्रिया