चक्रवात ‘यागी’ले निम्त्याएको पहिरोमा परी भियतनामको गाउँ ध्वस्त

काठमाडौ । विनाशकारी चक्रवात ‘यागी’ पछिको बर्षाका कारण आएको पहिरोमा परी भियतनामको लाओ काई प्रान्तको दुर्गम पहाडी गाँउ लाङ नुमा ठूलो क्षति भएको भियतनामी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।
पहिरोमा परी लाङ नु गाउँका कम्तिमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ७३ जना अझै बेपत्ता रहेका सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गरी प्रशारित समाचारमा उल्लेख गरिएको छ ।
अधिकारीहरूले भियतनाममा मात्रै १४० भन्दा बढीको मृत्यु भएको जानकारी गराएका छन् । लाओस, थाइल्यान्ड र म्यान्मा पनि आँधीबेहरीपछि आएको बाढीबाट प्रभावित भएका छन् ।
भियतनामी राजधानी हनोईको ‘रेड रिभर’ नजिकै १५ वर्षदेखि बस्दै आएका ४१ वर्षीय गुयेन ट्रान भ्यानले भन्नुभयो “यो मैले आजसम्म देखेको सबैभन्दा खतरनाक बाढी हो ।
पानीको स्तर यति छिटो बढ्छ भन्ने मैले सोचेको थिइनँ । हामीले भाग्न अलिकति मात्र ढिला गरेको भए आज स्थिति फरक हुन्थ्यो ।”
राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हनोईले सन् २००८ पछिको सबैभन्दा खतरनाक बाढीको सामना गरेको हो । नदीमा पानीको स्तर द्रूत गतिमा बढेपछि रेड नदीको किनारमा बसोबास गर्ने सयौँ बासिन्दाको उद्धारका लागि प्रहरी, सैनिक र स्वयंसेवकहरू तैनाथ गरिएको छ ।
हाल कुल १६ वटा प्रान्त र सहरमा आकस्मिक बाढी र पहिरोको जोखिममा रहेका छन् । भियतनामी सरकारले ३० वर्षमा उत्तरी भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधी यागीबाट ज्यान गुमाउनेको सङ्ख्या देशभरि १४३ पुगेको र ५८ जना अझै बेपत्ता रहेको बताएको छ । यो तथ्याङ्कमा मङ्गलबारको पहिरो पीडितको सङ्ख्या समावेश छन् वा छैनन् भन्ने स्पष्ट छैन ।
“बेपत्ताहरूको खोजीका लागि पहिरो गएको क्षेत्रमा सेना परिचालन गरिएको छ,” पार्टीका जिल्ला प्रमुख होआङ क्वोक बाओले बताउनुभयो ।
त्यसैगरी छिमेकी राष्ट्र लाओसको लुआङ प्रबाङ प्रान्तका केही नदीमा पानीको सतह चेतावनीको स्तरमा पुगेको छ ।
उत्तरी थाइल्यान्डको चियाङ माईमा पहिरोमा परी दुई र चियाङ राईमा अन्य दुई जनाको मृत्यु भएको छ ।
म्यान्माका बासिन्दा र स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार बाढीले पूर्वी शान राज्यको टाचिलिक सहरमा बिजुली र टेलिफोन लाइनहरू अवरुद्ध गरिएको र भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
दक्षिणपूर्वी एसियाले वार्षिक भारी मनसुनी वर्षा अनुभव गर्दछ तर प्रकृतिमा मानवीय हस्तक्षेपले निम्त्याएको जलवायु परिवर्तनले अधिक तीव्र मौसमी परिवर्तन निम्त्याएको छ जसले विनाशकारी बाढीको सम्भावना बढाउन सक्छ ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया