‘काठमाडौंमा घरवारविहीनहरूको रात सधैं सडकमै बित्छ’

काठमाडौं । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ ।
दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुईंमा कार्टुन र बोरा बिच्छ्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन् । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउने गर्छन् ।शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अध्यारो खोज्न सुरसार गर्दै थिए उनी । बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनी आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउँछन् । ‘चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो’, उनी भन्छन्, ‘घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।’
घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई । परिवार र आफन्तीको लेखाजोखा उनले कहिल्यै गरेनन् । दिनमा भारी बोक्न पाए दुई/चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा बास बस्ने उनको दैनिकी हो । उनी भन्छन्, ‘न्यायो ओछ्यान बिर्सिएको वर्षौं भयो । आफ्नो विगतको तीतोपल सम्झिन चाहन्न ।’
जाडो याममा अत्यन्त कठिन हुनेहुँदा कसरी चिसो कटाउने भन्ने चिन्ताले लाग्ने उनी बताउँछन् ।सडकमा रात बिताउन पनि घरवारविहीन सडक मानवलाई सजिलो छैन । गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्दछ । ‘गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिदैनन्’, उनी भन्छन् ।
उनी कहिले आफ्नै साथीहरुबाट लखेटिन्छन् भने कहिले सर्वसाधारण र व्यापारीबाट । सडक पेटी कब्जा गरेर बस्ने उनकै समूहबीच हातथाप हुन्छ । अलि सुकिलो र पानी ओत लाग्ने भुईं रोज्ने टाठाबाठा हुन्छन् ।
साठी वर्षीय घर्ती भने कहिलेकाहीँ त्यही चिसो भुईं पनि रोजेर पाउँदैनन् । भुईंमा पनि बास बस्न ठूलो सङ्घर्ष गर्नुपर्ने उनको गुनासो छ । ‘आफूमाथिको दुर्व्यवहार कसलाई सुनाउने ? कुनै निकाय छैन । त्यसैले चुपचाप भई दुर्व्यवहार सहन बाध्य हुन्छ’, उनी भन्छन् ।
सडकमा कुनै पनि मानव अलपत्र र बेवारिसे नभेटिउन् भन्ने सेवा भावका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेदेखि मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरेको छ । जसको आफन्ती कोही छैन, बेवारिसे छ उसको उद्धार गरी आश्रय दिनु आश्रमको जिम्मेवारी हो ।आश्रमका अध्यक्ष रामजी अधिकारी मेचीमहाकालीको उद्धार यात्रामा कोसी प्रदेशबाट तीन दिनमा ४४ जनाको उद्धार गरिएको जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेशको लहानमा १३ र जनकपुरमा ११ जनाको उद्धार गरिएको छ ।
कात्तिक २८ गतेसम्म देशभरका सडक मानवको उद्धार गर्ने उनी बताउँछन् । जतिसुकै उद्धार कार्य सक्रिय गरे पनि सडकमा जाँडरक्सी खाएर स्वतन्त्र जीवन जीउन चाहने र माग्ने पेसा अपनाउने मानव आश्रमको उद्धार क्षेत्रअन्तर्गत नपर्ने उनको धारणा छ ।
‘सडकमा वास्तविक सडक मानव भए उद्धार गरेका छौं’, अध्यक्ष अधिकारी भन्छन्, ‘जाँडरक्सी खाने र माग्ने व्यक्तिलाई सम्हाल्नु हाम्रो चुनौती बनेको छ ।’
सडकमा वास्तविक बेवारिसे मानव हुन कि होइनन् भनी पहिचान गर्न एउटा ‘सडक मानव स्क्रिनिङ सेन्टर’ जरुरी रहेको उनी बताउँछन् ।
सबै सडकका मानवलाई त्यहाँ राखेर वास्तविक पीडित पहिचान गर्न सजिलो हुने अध्यक्ष अधिकारीको बुझाइ छ ।
उनका अनुसार आश्रमले हालसम्म १२ वर्षको अवधिमा ११ हजार सडक मानवको प्रत्यक्ष उद्धार गरेको छ । तीमध्ये एक सय ५० बालबालिका छन् । ज्येष्ठ नागरिक तीन सय छन् भने एक हजार सडक मानव मानसिक सन्तुलन गुमाएका छन् । आश्रमले सात प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारी अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको बताउँछन् ।
सडकमा जथाभावी डुल्ने, भौतारिने गर्दा कुलतमा पसेको, दुर्घटनामा पर्न सक्ने, शान्ति सुव्यवस्थामा खलल पुग्नेजस्ता गतिविधि हुने गरेको उनी बताउँछन् ।
‘प्रहरीले सडक मानव देख्नेबित्तिकै तत्काल खबर गर्ने संयन्त्रको अभाव छ’, प्रहरी उपरीक्षक अधिकारी भन्छन्, ‘स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने अवस्थामा यसप्रति खासै चासो दिएको देखिंदैन ।’ सडक मानव अपराधी नभएकाले अलपत्र परेका बेला भेटिएमा प्रहरीले थुनामा राख्न नमिल्ने उनी उल्लेख गर्छन् ।
‘तत्काल उद्धार गर्ने स्रोतसाधन प्रहरीसमक्ष छैन । केही संस्था सहयोगी भए पनि पर्याप्त उद्धार संयन्त्र छैन’, प्रहरी उपरीक्षक अधिकारी भन्छन् ।
स्थानीय सरकारले सहयोगी सङ्संस्थासँग समन्वय गरी सडक मानव उद्धारको पहल गर्नुपर्नेमा उनी जोड दिन्छन् ।












MEPs handed over to local governments to drive clean energy, sustainable development
Nepal closely following recent developments in Venezuela
तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै
Nepal’s first Fish Sanctuary announced
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया