स्वदेशी फूलको माला प्रयोग गर्न आग्रह

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रूपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेका छन् । आफ्नै माटोमा उत्पादन भएको पुष्प खेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् ।
तिहारको समयमा प्लाष्टिकका फूल मालाले बजार नै छपक्कै ढाकिन्छ । यस्ता प्लाष्टिकका फूल मालाले वातावरणमा समेत असर पार्ने र स्थानीय उत्पादनको खपत कम गर्ने हुँदा यहाँका आठ वटै स्थानीय तहले केही समय पहिले नै सार्वजनिक सूचना जारी गर्दै प्लाष्टिकका फूलमाला बिक्री वितरण वितरणमा रोक लगाएका छन् । साथै स्थानीय फूल र मालाको प्रयोग गर्न सूचनामार्फत अनुरोध गरेका छन् ।
स्थानीयस्तरमा पुष्पखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न यहाँका कतिपय पालिकाले बीउबिजनमा अनुदान उपलब्ध गराएको थियो । कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकामा रहेर पुष्प व्यवसाय गरेका किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्लाष्टिकका फूलमालामा रोक लगाएको बताइन् ।
सामाजिक सञ्जालको प्रयोग गरी, स्थानीय पुष्पखेती गर्ने किसानसँग समन्वय गर्दै उनीहरूको सम्पर्क नम्बर सहित पालिकाको पेजमार्फत सूचित गर्ने काम गरिएको बताइन् । पालिकाभित्रका उपभोक्ताले पायक पर्ने किसानसँग सोझै सम्पर्क गरेर आफूलाई आवश्यक पर्ने फूलमाला खरिद गर्न सक्ने उनले बताइन्। पालिकाभित्र १२ स्थानमा पुष्पखेती गरिएको र कावासोतीलाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने विश्वास लिएको उनको भनाइ छ ।
जिल्लाको देवचुली नगरपालिकाले समेत युवा लक्षित पुष्पखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय उत्पादनबाट नै पालिकाको माग पूरा गर्न पुष्पखेतीमा बीउ बिरुवामा अनुदान उपलब्ध गराइएको नगर उपप्रमुख पार्वता तिवारीले बताइन् । उनले देवचुलीमा प्लाष्टिकका फूलमालालाई प्रतिबन्ध गरेको बताइन् ।
स्थानीय पुष्पखेती गर्ने किसानलाई हौसला दिन र वातावरण स्वच्छ राख्नका लागि किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न पालिकावासीमा अनुरोध गरिएको उनले बताइन् । उनले स्थानीय किसानले उत्पादन गरेका फूलमालाको बजारीकरणमा पालिकाले समन्वय र सहजीकरण गर्ने बताइन् ।
विनयी त्रिवेणी गाउँपालिकाले पनि स्थानीय पुष्पखेती गर्ने किसानलाई प्रोत्साह गर्दै उत्पादनको बिक्री वितरणमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । पालिकाले प्लाष्टिकका फूलमालालाई निरुत्साहित गर्दै स्थानीय किसानले लगाएको फूलमाला प्रयोगमा जोड दिन पालिकावासीमा आग्रह गरेको छ । “पालिकाले स्थानीय पुष्पखेती गर्ने किसानसँग सहकार्य गर्दै उपभोक्ताको सहजताका लागि किसानको नाम ठेगाना र नम्बरसहितको सूचना पालिकाको फेसबुक पेजमार्फत र वेभसाइटमार्फत सम्प्रेषण गरेको छ, हाम्रो धारणा स्थानीय फूलले सहज बजार पाओस् भन्ने हो”। अध्यक्ष गिरीले भने । यस कार्यले किसानको पुष्पखेतीको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिएको उहाँको भनाइ छ । उपभोक्ताले आफ्नो नजिक पर्ने किसानलाई सिधै सम्पर्क गरेर फूलमाला खरिद गर्न सक्ने उनले बताए ।
यस्तै जिल्लाको पहाडी पालिका बौदीकालीले समेत पुष्प खेतीलाई प्रोत्साहन गर्दै किसानलाई अनुदानमा बीउ वितरण गरेको थियो । यहाँ व्यावसायिक रूपमा पुष्प खेतीको सुरुआत गत वर्षबाट भएको थियो । पालिका आफैँले बजारीकरणको जिल्ला लिएर रु दुई लाख बराबरको फूलमाला बिक्री वितरण गरेको थियो । यस वर्ष पनि स्थानीय पुष्पखेती गर्ने किसानलाई प्रोत्साहन गर्दै बजारीकरणमा सहयोग गर्ने पालिका अध्यक्ष प्रकाश ओझाले बताए ।
चाडपर्वमा आवश्यक पर्ने फूलमालाको आयात रोक्दै निर्यात गर्ने लक्ष्यसहित पालिकाले पुष्पखेती गर्ने किसानलाई अभिप्रेरित गरिएको ओझाले बताए । आफ्नै नजिक र पायक पर्ने ठूला सहर पोखरा, बुटवल, चितवन, कावासोतीमा फूलमाला निर्यात गर्ने लक्ष्य सहित पुष्पखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराएको र बजारीकरणमा पनि सहयोग गर्ने ओझाले बताएका छन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया