मंगलबार, चैत १०, २०८२

छठका लागि कुटान पिसान सुरु

मेरोन्यूज २०८१ कार्तिक १९ गते १२:५९

जलेश्वर (महोत्तरी) । महोत्तरीसहित मिथिलाञ्चल तथा तराई मधेसमा आजदेखि छठ पर्वका लागि कुटान पिसान सुरु भएको छ। छठ पर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउन आजदेखि कुटान पिसान सुरु गरेका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

तराई मधेसमा गोधन पर्व सम्पन्न भइसकेपछि छठ पूजाका लागि कुटान पिसान सुरु गर्ने परम्परा छ। आइतबार तराई मधेसमा गोधन पर्व सम्पन्न गर्दै आजदेखि छठ पर्वको कुटान पिसान सुरु गरिएको जलेश्वर नगरपालिका–८ की बर्तालु राजवती देवीले बताए।

छठ पर्वका लागि घरघरमा आज बिहान अरबा चामल र चुनिएको गहुँ धोइपखाली सुकाएर आजैदेखि चामल तथा गहुँ कुटान पिसान गरी पिठो तयार गरिने जलेश्वर–८ की बर्तालु सुमित्रा देवीले बताए।

चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी तथा जाँतोमा पिस्ने परम्परा छ। तर अहिले ढिकी र जाँतो अभाव हुन थालेपछि कतैकतै मिलमा पनि कुटान पिसान गरिन थालेको जलेश्वर–६ की विनिता देवीले बताए।

बिहानै आ–आफ्ना घर आँगन वा टोल छिमेकमा भएका ढिकी तथा जाँतोलाई शुद्ध र सफा पानीले धोएर पवित्र बनाएपछि गहुँ र चामल कुट्ने तथा पछि पुनः गहुँ र चामललाई धोएर सुकाएर पिध्ने गरिन्छ। यसरी कुटान पिसानबाट तयार भएको पिठोले नै छठ पर्वमा भगवान् सूर्य र माता छठदेवीको अघ्र्यका लागि ठेकुवा, भुस्वा, खजुरिया, पेरुकियालगायत पकवान तयार गरिने जलेश्वर–२ की कोसिला देवीले बताए।

छठ पर्वमा चामल र गहुँकै पिठोबाटै तयार भएको ठेकुवा र भुस्वा नै प्रमुख प्रसाद रहने गरेका कारण यसलाई शुद्धताका साथ कुटान पिसान गरी पकाउने तयारी गरिन्छ।

प्रतिक्रिया