किसानले धान/मकै लगाउन छाडे, व्यावसायिक कोदोखेतीतर्फ आकर्षित हुँदै

धरान। बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् ।
स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए। अरु कृषिबालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएको आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।
“विगत १७ वर्षदेखि कोदोखेती गर्दै आएको थिए । पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु । व्यावसायिक रूपमा उत्पादन सुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ”, विश्वकर्माले भने ।
उनले कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भइरहेको सुनाए । विश्वकर्माका अनुसार कोदोबाट कतिपय किसानले घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गरेर लाखौँ आम्दानी गरिरहेका र त्यो नगर्नेहरूले पनि पारिवारिक उपभोग तथा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीमा जोड दिन छोडेर आफू पनि कोदो खेतीमा लागेको सुनाइन् । उनले भनिन्, “धान र मकैमा जत्ति दुःख गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन । रोग, किरा लागेर कहिलेकाही मेहनत त्यसै खेर जान्छ तर कोदोमा खासै त्यस्तो हुँदैन । पछिल्लो समय रोग लागेको छैन, उत्पादन राम्रो भएको छ । त्यसैले आम्दानी राम्रै हुने गरेको छ । एक कठ्ठा जग्गामा एक सय २० किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ । बिक्रीका लागि समस्या पनि हुँदैन । स्थानीय बजारलगायत इनरुवा, इटहरी, धरानमा बिक्रीका लागि पठाउने गरेकी छु ।”
किसान नारायण विक पनि १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आएका छन् । उनले मकै, धानलगायत खेती लगाउन छोडेर यस खेतीतर्फ लागेको पाँच वर्षभन्दा बढी भयो ।
“कोदोखेती गरेर पछुताउनुपरेको छैन । राम्रो आम्दानी भइरहेको छ । कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गर्दै आएको छु”, विश्वकर्माले भने,“कोदो बिक्रीका लागि इनरुवा, इटहरी, धरान जाने गरेको छु । प्रतिकेजी रु ७० देखि एक सयमा बिक्री हुन्छ । तोङ्बा बनाएर रु एक सय ५० मा एक तोङ्बा बिक्री हुन्छ भने कोदोको रक्सी एक बोतलको रु दुई सयमा घरैबाट बिक्री हुन्छ । त्यसैले कोदो उत्पादन गर्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।”










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया