सोमबार, वैशाख १४, २०८३

पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु

मेरोन्यूज २०८२ चैत ३ गते ९:१२

सोमबार राति पाकिस्तानले अफगानिस्तानमा फेरि हवाई हमला गरेको छ।

Advertisement
NiccNicc

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका धेरै क्षेत्रमा आक्रमण गरेको हो। जसमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।

रिपोर्टका अनुसार, दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल वरपरका धेरै स्थानहरूमा विस्फोट र गोलीबारी सुनिएको थियो।तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध पुनर्स्थापना अस्पतालमा बमबारी गरेको आरोप लगाएका छन्।स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेको भिडियोमा सुरक्षाकर्मीहरूले टर्चको सहायताले घाइते र मृतकलाई बाहिर निकालिरहेको तथा दमकलकर्मीहरूले भग्नावशेषबीच आगो निभाउने प्रयास गरिरहेको देखिन्छ ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अस्पताल तथा नागरिक संरचनालाई लक्षित गरी आक्रमण गरिएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका छन् । उनले यस्तो कार्य मानवताविरुद्धको अपराध भएको बताएका छन् ।

यद्यपि पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले काबुलमा कुनै अस्पताललाई लक्षित नगरिएको बताएका छन् ।

पाकिस्तानको सूचना मन्त्रालयले जारी गरेको वक्तव्यमा अफगानिस्तानका विभिन्न स्थानमा गरिएको हवाई कारबाही सैन्य संरचना, प्राविधिक उपकरण भण्डारण स्थल तथा गोला–बारुद भण्डारणलाई लक्षित गरिएको दाबी गरिएको छ । मन्त्रालयले आक्रमण अत्यन्त सावधानीपूर्वक गरिएको र नागरिक संरचनामा कुनै क्षति नपुग्ने गरी सञ्चालन गरिएको बताएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबान शासकलाई आतंकवादविरुद्धको प्रयास तत्काल तीव्र पार्न आह्वान गरेको छ । परिषद्ले सर्वसम्मतिले पारित प्रस्तावमार्फत सबै प्रकारका आतंकवादी गतिविधिको कडा निन्दा गरेको छ ।

प्रतिक्रिया