बुधबार, चैत ११, २०८२

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

मेरोन्यूज २०८१ कार्तिक २८ गते १५:२७

काठमाडौँ । बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर्पाका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन ।“भैरहवा र सुर्खेत विमानस्थल बन्द छन् अन्य विमानस्थलबाट नियमित उडान भइरहेका छन्”, उनले भने ।

Advertisement
nepal life insurencenepal life insurence

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । ती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार सुक्खा मौसम र प्रदूषणले लामो समय वर्षा नहुँदा तथा तराई क्षेत्रमा बाक्लो तुवालो लागेकाले हवाई यातायात प्रभावित भइरहेको बताए। “तराईको भू–भागमा वर्षा भए पनि नभए पनि अबको केही दिनपछि बिहाना हुस्सु, कुइरो लाग्नेक्रम बढ्ने र उडान प्रभावित हुनेछ ”, उनले भने,“नोभेम्बरको तेस्रो सातादेखि बाक्लो हुस्सु कुइरो बढ्नेछ । डिसेम्बर, जनवरी र फेब्रुअरीमा बढी हुस्सु र कुहिलो लाग्ने भएकाले महाशाखाले विशेष ‘मोनिटरिङ’ नै गर्छ ।”

तापक्रम घट्दै जाँदा भिजिबिलिटी कमजोर हुने भएकाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान प्रभावित हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया