पशुपति क्षेत्रमा सुरु भयो नवदुर्गा नाच

काठमाडौँ । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच आजदेखि सुरु भएको छ ।
रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरी फर्कने चलन छ । यो नाच मोक्षदा एकादशीका दिन यही मङ्सिर २६ गते पशुपतिबाट फर्कने जनाइएको छ ।
नवदुर्गा, भैरव, गणेश लगायत देवी देवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल पशुपति आउने मल्लकालदेखिको परम्परा छ । पैदल आउनेक्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले टेकेर तर्नुपर्ने चलन रहेको पशुपति क्षेत्रका संस्कृतिका विषयमा अनुसन्धान गरिरहेका स्थानीयवासी मुकुन्दराज वैद्यले जानकारी दिए ।
नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट आई सोही बाटो फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो । विमानस्थलको सुरक्षामा खटिएका सुरक्षा समूहसमेतले नवदुर्गाका गणलाई आउन दिने गरेको उनले बताए ।
नाच देखाउने क्रममा नवदुर्गाका गण नवमी र दशमी गरी दुई रात जयवागेश्वरीस्थित नवदुर्गा डबलीअघिको देवता घरमा बस्ने गर्छन् । विगतदेखि कम्तीमा दुई सयभन्दा बढी नवदुर्गाका गण आउने गरेका छन् । विसं २०३९ देखि यो जात्रालाई सहयोग एवं समन्वय गर्दै आएका काठमाडौँ महानगरपालिका-८ का पूर्व वडा अध्यक्ष सुवर्ण वैद्य नवदुर्गा नाचका क्रममा पशुपति क्षेत्रमा धेरै दर्शकले जात्रा अवलोकन गर्ने बताउँछन् ।
जयवागेश्वरी ल्याएपछि देवीलाई पशुपति क्षेत्र विकास कोष अन्तर्गतको अमालकोट कचहरीका तर्फबाट बलिसहित पूजा गर्ने परम्परा छ । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा कसैले यस संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नुपरेका उदाहरणसमेत रहेको स्थानीय बताउँछन् । नवदुर्गा नाच पशुपति क्षेत्रसँगै बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानका देवी मन्दिर अघिसमेत लगेर देखाउने परम्परा छ ।
पशुपति क्षेत्रमा हरिसिद्धिको जात्रा आउने वर्ष भने नवदुर्गाका गण आउँदैनन् । विगतमा हरिसिद्धि र नवदुर्गाको नाच जयवागेश्वरीमा एकै पटक आएका बेला दुवै देवीबीच झगडा भएकाले हरिसिद्धि आउने वर्ष नवदुर्गा नआउने नियम बसालिएको हो । विसं २०७८ को मार्गशीर्ष शुक्ल नवमीमा हरिसिद्धिको नाच जयवागेश्वरी आएको थियो ।
जाडो महिनामा जात्राको समय पर्ने भएकाले दुई रातसम्म नवदुर्गा डबलीअघि गणलाई आगो बालेर ताप्ने व्यवस्था मिलाइने गरिन्छ । यस जात्रालाई विसं २०३९ देखि स्थानीयवासीले पैसा उठाएर सहयोग गर्दै आएका छन् । यसको व्यवस्थापन हाल जयवागेश्वरी युवा क्लबले गर्दै आएका छन् । नवदुर्गाका गणलाई जयवागेश्वरीवासीले घर घरमा लगी टीका लगाइदिने र मीठा कुरा खान दिने परम्परा छ ।
विगतमा नवदुर्गाका गणका नाममा गुठी राखिएकामा मासिएपछि विभिन्न स्थानमा गएर जात्रा देखाउन स्रोतको समस्या हुने गरेको गणनायकको भूमिकामा रहेका दयाराम वनमाला बताउँछन् । उनका अनुसार गुठी मासिएपछि नाच लैजाने स्थलका स्थानीयवासीको साथ र सहयोगमा यो ऐतिहासिक परम्पराले निरन्तरता पाउँदै आएको छ ।
नाचका क्रममा नवदुर्गालाई पशुपतिनाथको मूल मन्दिर परिसरसमेतमा परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाए । जात्राका क्रममा तीन दिनसम्म जयवागेश्वरी मन्दिरअघिबाट सिफल जाने मार्ग बन्द गरेर नाच देखाइन्छ ।










यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया