शुक्रबार, चैत ६, २०८२

अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था सम्बन्धी १ दिने कार्यशाला सम्पन्न

मेरोन्यूज २०८१ पुष ६ गते ११:२७


काठमाडौं । दृष्टिविहीन क्रिकेट संघ नेपालले वि.स.२०६३ साल देखि नै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि काम गर्दै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस संस्थाले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाएको खण्डमा खेलकुद मार्फत अपाङ्गता प्रति समाजमा भएको नकारात्मक सोचको अन्त्य गर्न र देशको नाम उच्च राख्न सक्छन् भन्ने कुरालाई नेत्रहीन क्रिकेट खेल मार्फत प्रस्तुत गरी सकेको छ ।

नेत्रहीन क्रिकेट संघ नेपाल मार्फत अहिले सम्म ४ वटा अन्तर्राष्ट्रिय र ९ वटा राष्ट्रिय नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सम्पन्न गरी सकेको छ ।


अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि यस संस्थाले काम गर्ने क्रममा राज्य स्तरबाट अपाङ्गता भएका खेलाडीहरूका लागि के कस्ता ऐन कानुन तथा नीति नियमहरू बनेका छन् र तीनको कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने सवालमा विभिन्न समयमा सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी पनि गरी रहेको छ ।


यसै सन्दर्भमा सोमवार दृष्टिविहीन क्रिकेट संघ नेपालले साझेदारीमा राष्ट्रिय खेलकुद विकास नीति तथा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था विषयमा १ दिने कार्यशाला काठमाडौँमा सम्पन्न गरेको छ । कार्यक्रममा आयोजक संस्था दृष्टिविहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले नेपालमा दृष्टिविहीन क्रिकेट खेल र अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको सुरुवात तथा विकासको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरे।

यसै क्रममा उनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको सुरुवात वि.स.२०२५ देखी भएको, वि.स.२०३२ सालमा शारीरिक अपाङ्गता भएकी महिला सूर्य कुमारी गुरुङले जापनमा स्वर्ण पदक जितेको, वि.स.२०५२ सालमा नेपाल पारा ओलम्पिक कमिटीको स्थापना भएको भन्दै अहले नेपालमा अपाङ्गताको क्षेत्रमा काम गर्ने २१ वटा संघ संस्था मार्फत खेलकुदका कार्यक्रमहरूको आयोजना गर्दै आएको बताए ।

त्यसै गरी उनले राष्ट्रिय खेलकुद नीति बनाउँदा अपाङ्गता भएका खेलाडीहरू तथा अपाङ्गताको खेलकुदका लागि काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरूसँग छलफल गरी सल्लाह सुझावलाई पनि समावेश गर्नु पर्ने बताए ।


साथै उनले राज्यले खेलकुदमा नीतिमा अपाङ्गता भएका खेलाडीहरूका लागि पनि संवोधन गरिएका व्यवस्थाहरूका विषयमा जानकारी गराउनु भयो । यस कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुदका सवालमा गरिएका प्रयासहरूका विषयमा प्रस्तुतीकरण भएको थियो ।


दृष्टिविहीन क्रिकेटसंघ नेपालले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय खेलकुद विकास नीति तथा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था विषयक कार्यशालामा उच्च अदालतका इजलास अधिकृत सुवेदी खनालले सर्वोच्च अदालत तथा न्यायपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि गरिएका व्यवस्थाहरूको विषयमा, युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत प्रमीला खनालले राष्ट्रिय खेलकुद विकास ऐन तथा राष्ट्रिय खेलकुद निजीको मस्यौदामा अपाङ्गता भएका व्यक्तिहरूको सवाल सम्बन्धमा प्रस्तुतीकरण भएको थियो ।


सो कार्यक्रममा आयोजक संस्था दृष्टिविहीन क्रिकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि र दृष्टिविहीन क्रिकेट खेलको विकासका लागि पनि भएका ऐन कानुन तथा नीति नियमहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि पहल गर्नु पर्ने, अपाङ्गता भएका खेलाडीहरू र अपाङ्गता नभएका खेलाडीहरू बिचमा प्रतियोगिता तथा सेवा सुविधामा विभेद गर्न नहुने बताए ।

प्रतिक्रिया