मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान

म्याग्दी (बेनी) । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रूपमा तरकारी र फलफूलखेतीमा आकर्षित भएका हुन् । बेँसी जडीबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे ‘सिजन’मा व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेका छन् ।
कृषि उपजको आयात घटाउनाका साथै उत्पादित कृषि उपज बिक्री गरेर आयआर्जन गर्न र आत्मनिर्भर बन्न व्यावसायिक तरकारीखेतीले सहयोग पुगेको स्थानीय कृषक अमर पुनले बताए। दुई वर्षदेखि टनेलमा गोलभेँडाखेती गरेका पुनले उत्पादन भएको कृषि उपज बिक्री गर्न समस्या नभएको बताए।
“पहिले घरमा खानका लागि मात्र कृषि उपज उत्पादन गर्ने चलन थियो, गाउँमा सडकको पहुँच आएसँगै यहाँ उत्पादन भएको कृषि उपज सजिलै बजारसम्म पुग्ने अवस्था बनेपछि यहाँ धेरैले कृषिलाई पेसाकै रूपमा अघि बढाएका छन्, मैले पनि दुई वर्षदेखि कृषिबाट आफ्नो परिवारको घर खर्च जुटाउँदै आएको छु”, पुनले भने । यहाँका स्थानीयले गोलभेँडा, आलु, बन्दा, काउली, सागलगायत तरकारीखेती विस्तार गरेका छन् ।
छिमेकीगाउँ, मल्कबाङ, मलम्पार, बुल, राम्चेलगायत ठाउँका स्थानीयले यहाँ उत्पादन भएको कृषि उपज करेसाबारीबाटै खरिद गरेर लैजाने गरेका छन् । धेरै उत्पादन भएको कृषि उपज दरबाङ बजारसम्म निर्यात हुने गरेको छ । मराङबेँसीमा चारजनाले टनेलमा गोलभेँडाखेती गरेका छन् । पन्ध्र घरधुरी आलु, बन्दा, काउलीलगायत तरकारीखेतीमा आबद्ध भएका छन् । गाउँका स्थानीय कुनै न कुनै कृषि पेसामा लागेको स्थानीय भक्तबहादुर जुग्जालीले बताए ।
“मैले टनेलमा सागखेती गरेको छु, चिसो हावापानीमा उत्पादन भएको साग स्वादिलो हुने भएकाले धेरैले मन पराउने गरेका छन्, गाउँमा उत्पादन भएको कृषि उपज बिक्री नहोला भन्ने पीर हुँदैन”, उनले भने । कृषिसँगै भैँसीपालनबाट समेत स्थानीय आत्मनिर्भरको बाटोमा लागेका छन् । हरेक घरमा तरकारीखेती र दुहुना भैँसीपालन गर्ने यहाँको विशेषता नै बनेको छ ।
गाउँमा यस वर्ष हिउँदे आलुखेतीले व्यावसायिकता पाएको छ । यहाँ करिब २० रोपनीमा हिउँदे आलुखेती गरिएको छ । बेँसीसँगै बुलमा समेत व्यावसायिक आलुखेती हुँदै आएको छ । यस वडाको घण्टीबाङमा खाद्यान्न बाली विस्तार र राम्चेमा लसुन तथा गोलभेँडा विस्तार अभियान चलाइएको छ । गाउँका स्थानीयलाई कृषिमा व्यावसायिक बनाउन वडा कार्यालयले समेत कृषि समूह गठन गरेर कृषकलाई बल, बीउ र औषधोपचारमा सघाउन थालेको धवलागिरि गाउँपालिका–६ मराङका वडाअध्यक्ष राजाराम उपाध्यायले जानकारी दिए। परम्परागत कृषिखेतीलाई व्यावसायिकता दिएपछि स्थानीयवासीको आयआर्जन सुधार हुन थालेको वडाअध्यक्ष उपाध्यायले बताए।
मराङमा व्यावसायिक तरकारीबालीसँगै फलफूलखेतीको समेत अभियान चलेको छ । विविध कारणले गाउँमा बसोबास गर्नेहरूको सङ्ख्या घट्दै जाँदा खेतीयोग्य जमिन बाझिने समस्या बढेपछि स्थानीयले नगदेबालीका रूपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन् ।
गत आर्थिक वर्षमा मराङमा धवलागिरि गाउँपालिकाले दुई हजार दुई बोट सुन्तलाका बिरूवा अनुदानमा वितरण गरेको थियो । यहाँका टोलबस्तीहरू सुन्तला उत्पादनमा समेत पकेट क्षेत्रका रूपमा विकास भइरहेका छन् ।









…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया