नेपाल रेडक्रस सोसाइटीद्वारा पत्रकारलाई मानवीय मूल्य मान्यतासम्बन्धी प्रशिक्षण

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीद्वारा मानवीय मूल्य मान्यता सेवाकार्यसँग सम्बन्धित खोज र अनुसन्धानमा क्रियाशील पत्रकारका लागि सञ्चालित मानवीय पक्षको रिपोर्टिङसम्बन्धी तीनदिने प्रशिक्षण काभ्रेको बनेपा बुडोलमा सम्पन्न भएको छ ।
पुस ७ गतेदेखि सञ्चालन भएको सो तालिममा वरिष्ठ पत्रकारद्वय जगत नेपाल र लक्ष्मण दत्त पन्त, विज्ञ कृष्ण चालिसे, नेपाल रेडक्रसको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपाने र उपनिर्देशक शिवराम गौतमले सहजीकरण गरेका थिए ।
तालिममा रेडक्रस अभियान, नेपाल रेडक्रस सोसाइटी इतिहास, साङ्गठनिक संरचना र गतिविधिहरू, अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवीय मूल्य प्रवर्द्धन, मानवीय कूटनीति, विपद्का समयमा गरिने मानवीय रिपोर्टिङ, आमसञ्चार, जोखिम सञ्चार र आचार संहितालगायत विषयहरूमा प्रशिक्षण गराएका थिए ।
तालिमका क्रममा नेपाल रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले रेडक्रसद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिका प्रचारप्रसारमा पुर्याइएको सहयोग र योगदानको प्रशंसा गर्दै यस तालिमबाट सहभागीलाई मानवीय गतिविधिको रिपोर्टिङका क्रममा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

रेडक्रसका निर्देशक न्यौपानेले रेडक्रसका मानवीय गतिविधिहरूलाई बुझाउने, प्रचारप्रसार गर्ने र यसका कार्यहरूलाई सरकारलगायत अन्य निकायहरूलाई सहमत गराई गतिविधिको पहुँच बढाउने कार्यमा मानवीय कूटनीतिबाट सहयोग पुग्ने बताए ।
उनले रेडक्रस सामान्य गैरसरकारी संस्था नभई संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था भएकाले यसका मूल्य र मान्यताको प्रभावकारी कार्यान्वयन गर्न नेपालमा छुट्टै रेडक्रस कानून आवश्यक रहेको औंल्याए ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्वारा सञ्चालित ३ दिने मानवीय रिपोर्टिङ तालिमको मंगलबार भएको समापनमा अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय रेडक्रसमा आवद्ध १९२ देशमध्ये १२० भन्दा बढी राष्ट्रले आफ्नो छुट्टै रेडक्रस कानून बनाएर कार्यान्वयनमा ल्याइरहेको स्पष्ट पारे ।
‘रेडक्रस सानो गैरसरकारी संस्था होइन । अन्तर्राष्ट्रिय मानवीय कार्य गर्ने संस्था हो । यसले दर्ता र नवीकरण जस्ता प्रशासनिक झमेलामा फसेर रेडक्रसका अन्तर्राष्ट्रिय मूल्य-मान्यताको कार्यान्वयन प्रभावकारी हुँदैन’, उनले भने, ‘रेडक्रस राष्ट्रियमात्रै होइन, अन्तर्राष्ट्रिय अभियान हो । रेडक्रसमा आवद्ध १९२ देशमध्ये १२० भन्दा बढी राष्ट्रले रेडक्रससम्बन्धी आफ्नै कानून बनाएका छन् । त्यसैले यसका मूल्य मान्यता र अभियानलाई सोहीअनुरुप अगाडि बढाउन नेपालमा रेडक्रससम्बन्धी छुट्टै कानून आवश्यक छ ।’
अध्यक्ष नेपालले रेडक्रसम्बन्धी कानून संस्थाले नभई देशको संसदले बनाउनुपर्ने स्पष्ट पारे । तैपनि आफूहरुले कानून मन्त्रालय र मन्त्रीलाई पटकपटक भेटेर रेडक्रससम्बन्धी छुट्टै कानून बनाउन ध्यानाकर्षण गर्दै आएको उनको भनाइ थियो ।
‘रेडक्रससम्बन्धी कानून बनाउन मन्त्रालय र मन्त्रीसँग पटकपटक छलफल गरेका छौं । उहाँहरुले अब कानून बन्छ भनेकै वर्षदिन भइसक्यो, तर कानून ड्राफ्टसम्म भएको छैन’, अध्यक्ष नेपालले गुनासो गरे, ‘कानून बनेको खण्डमा रेडक्रस र यसको चिह्नको दुरुपयोग हुन पाउँदैनथ्यो । रेडक्रस अभियान निर्वाध रुपमा अघि बढ्थ्यो ।’
उनले रेडक्रसमा रहेको विवाद पूर्ण रुपमा नसुल्झिए पनि यही पुस २० र २१ गते विधान संशाेधन महाधिवेशन गरेर संस्थालाई स्थानीय तहसम्म विस्तार गर्न लागिएको जानकारी दिए । विधान अधिवेशनपछि चैतभित्रै केन्द्रीय महाधिवेशन गरेर रेडक्रसमा नयाँ नेतृत्व चुन्ने तयारी भइरहेको उनको भनाइ छ ।
काभ्रेको बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तालिम प्रतिष्ठानमा भएको तालिममा सहभागी सञ्चारकर्मीहरुको सक्रियतामा ‘ह्युम्यानिटेरियन च्याम्पियन जर्नलिस्ट ग्रुप’समेत गठन गरिएको छ । जसको संयोजक पेशल आचार्य र सहसंयोजक भगवती तिमिल्सेना रहेका छन् ।
तालिममा २३ जना पत्रकारको सहभागिता थियो ।



















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया