बुद्धकालीन सहरको संरचना भेटिएको दाबी

नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी गरिएको छ । पुरातत्व विभाग र त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले चार स्थानमा गरेको उत्खननका क्रममा पर्खालको संरचनासहित विभिन्न प्रकारका प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहनालगायत पुरातात्विक सामग्री फेलापरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिए।
यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्नेगरी बुद्धकालीन सहरको संरचनासहित विभिन्न सामग्री पनि भेटिएका छन् । कोलीय गणराज्यको महत्त्वपूर्ण सहर मानिएको पण्डितपुरमा पुरातत्व विभागले गरेको उत्खननले महत्त्वपूर्ण प्रमाणसहितका संरचना भेटिएका हुन् । यसअघि भएको जियोफिजिक्स सर्भे (भूभौतिक अध्ययन)का क्रममा देखिएको बुद्धकालीन सहरको संरचना उत्खननका क्रममा फेलापरेको छ ।
ती सामग्रीको थप अध्ययन गरेर धेरै कुरा थाहा हुने उनको भनाइ छ । पण्डितपुरमा उत्खनन टोलीले एक ठाउँमा तीन मिटर गहिरो खाडल खनेर सो क्षेत्रको प्राचीन सांस्कृतिक अवस्थाका विषयमा पनि अध्ययन गरेको छ । बौद्धकालदेखि मुस्लिम बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको ज्ञवालीले बताए। यसअघि बेलायतमा गरिएको अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौँ शताब्दीका भएको पुष्टि भइसकेको छ ।
विश्व सम्पदा सूचीमा सूचीकरणको तयारीमा रहेको कपिलवस्तुको तिलौराकोटसँग मिल्दोजुल्दो मितिका संरचना पण्डितपुरमा भेटिएको पुरातत्व विभागले जनाएको छ । उक्त स्थलको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारले बजेट विनियोजन गरेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए। पुरातात्विक क्षेत्र भएकाले सो क्षेत्रको संरक्षण गर्न तारबार गर्ने योजना बनाएको उनले बताए।
पण्डितपुरमा गरिएको उत्खननका क्रममा जमिनको सतहबाट १० सेन्टिमिटर पुरातात्विक संरचना फेलापरेका छन् । सामान्य खनजोतका क्रममा पनि पुरातात्विक सामग्री भेटिने पण्डितपुर संवेदनशील पुरातात्विक क्षेत्रका रूपमा रहेको छ । केही सार्वजनिक र धेरै निजी स्वामित्वका जग्गा रहेको पण्डितपुरलाई संरक्षण गर्न भौतिक संरचना निर्माण तत्काल रोक्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । झण्डै ६२ बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलिय गणराज्यको राजधानीको रूपमा दाबी गरिँदै आइएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया