शुक्रबार, चैत ६, २०८२

झापाका किसानले चैते धानको उचित मूल्य पाएनन्

मेरोन्यूज २०८२ चैत ६ गते १३:३०

बनियानी (झापा)। अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइनभ्याइ थियो । तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन । कारण हो, मूल्य दुई वर्षअघि किसानले बर्खे र चैते दुवै धानको मूल्य राम्रो पाएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारलेसमेत बेलैमा चैते धानको मूल्य तोक्दा किसानमा उत्साह थपिएको थियो । बजार भाउ पनि राम्रै मिलेको थियो । तर, पछिल्लो पटकको चैते धान र बर्खे धानले अघिल्लो वर्षको जस्तो मूल्य पाएन । गतवर्ष किसानले चैते धानको मूल्य प्रतिमन रू ६ सय देखि रु ७ सय पाएका थिए भने बर्खे धान रू एक हजार २०० देखि रु एक हजार ३०० सम्म पाएका थिए । गत वर्षको तुलनामा यो वर्ष करिब १५ देखि २० प्रतिशत चैते धानको क्षेत्रफल घट्ने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट बताउछन् ।

“गत वर्ष किसानले चैते धानको मूल्य नै पाएनन्”, उनले भने, “किसानलाई लागत उठाउन पनि मुस्किल पर्यो ।”

मूल्य नपाएकै कारण यो वर्ष झापा जिल्लामा चैते धानखेतीको क्षेत्रफल घट्ने प्रमुख विष्ट बताउछन् । “तीन हजारदेखि चार हजार हेक्टरसम्म चैते धानखेती घट्ने अनुमान गरेका छौँ”, उनले भने । आव २०८१÷८२ मा सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको सर्मथन मूल्य न्यूनतम् प्रतिक्विन्टल रू दुई हजार ८६९ निर्धारण गरेको थियो । तर, किसानले मुस्किलले प्रतिक्विन्टल रू एक हजार पाँच सयदेखि रु एक हजार ७५० सम्म मात्र पाएका थिए ।

सरकारले आव २०८०÷८१ को तुलनमा आव २०८१÷८२ मा चैते धानको मूल्य प्रतिक्विन्टल रू ९३।४१ बढायो । तर, किसानले पुरानै मूल्य पनि पाएनन् । चालु आर्थिक वर्षका लागिसमेत सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य बढायो । मन्त्रिपरिषद्को बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल रू तीन हजार ४६३।८१ तोक्यो भने मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रू तीन हजार ६२८।३३ तोक्यो । अघिल्लो वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य रू तीन हजार ४१० थियो भने वर्ष मध्यम धानको न्यूनतम मूल्य रू तीन हजार ५८० तोकिएको थियो । तर, किसानले बढेको त परै जाओस् पुरानै मूल्य पनि पाएनन् ।

बर्सेनि सरकार मूल्य बढाउँदै जाने र किसानले मूल्य नपाउने शृङ्खला चलिरहेको छ । मिल उद्योगी र व्यवसायीले नै किसानलाई आफूखुसी धानको मूल्य दिने गरेका छन् । मिल उद्योगीको गुनासो बेग्लै छ । उनीहरुले उद्योग नै सङ्कटमा परेको गुनासो गर्छन् गरिरहेका छन् ।

आव २०८०÷८१ मा चैते धानको किसानले उचित मूल्य पाएका थिए । उक्त आवमा १९ हजार ८५० हेक्टरमा एक लाख चार हजार १४ मेट्रिकटन चैते धान उत्पादन भएको थियो । मूल्य राम्रो पाएपछि आव २०८१÷८२ मा चैते धानखेतीको क्षेत्रफल एक सय हेक्टर बढेर १९ हजार ९५० हेक्टर पुगेको थियो भने एक लाख छ हजार १३४ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए ।

प्रविधि सिकाउँदै ज्ञान केन्द्र किसानको लागत खर्च घटाउन र उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ । विगतमा झैँ यस वर्षसमेत शिवसताक्षी र गौरादहको २४ बिघामा नमूना धानखेती गरिएको प्रमुख विष्टले बताउनुभयो । धान रोप्ने मेसिनको प्रयोग गरेर यी दुई स्थानमा नमूनाखेती गरिएको उहाँले बताए ।

“किसानलाई कृषि प्रविधि सिकाउने र त्यसमा अभ्यस्त बनाउने काम गरिरहेका छौँ”, उनले भने, “जसले किसानको लागत घटाउनुका साथै कृषि क्षेत्रमा आकर्षित गर्ने विश्वास छ ।”

प्रतिक्रिया