बिपीको मेलमिलाप नीति : सर्वकालीन सान्दर्भिकता

काठमाडौँ । आज देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । बिपी ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन भारत निर्वासनबाट स्वदेश फर्किएको थियो ।
भारतमा निर्वासनमा रहहेका बिपी आठ वर्षपछि नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला स्वदेश फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । निर्वासनको यो आठ वर्ष बिपीका लागि अत्यन्त कष्टपूर्ण, कठिन र सङ्घर्षयुक्त रहे ।
निर्वासनबाट स्वदेश फर्कनु स्वयं बिपीका लागि, नेपाली कांग्रेसका लागि र समग्रमा नेपालका लागि निकै महत्वपूर्ण राजनीतिक खुड्किलो रहेको त्यसबेला स्वीकार गरिएको थियो वा अहिले पनि सान्दर्भिक र सामयिक छ । निकै जोखिम मोलेर नेपाल फर्कने सन्दर्भ बिपीको निकै ठूलो साहसिक निर्णय थियो, तत्कालीन राजनीतिक अवस्थाको विश्लेषण गर्ने हो भने यो जोखिमको अनुमान सहजै गर्न सकिन्छ ।
यो कुराको एक उदाहरणका रुपमा अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको सन्दर्भलाई पनि जोड्न सकिन्छ । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालका अनुसार कार्टर राष्ट्रपति रहँदा नै उनले तत्कालीन राजालाई बिपीलाई जेलमुक्त गर्न आग्रह गरेको थियो । उनै कार्टरको हिजो एक सय वर्षका उमेरमा भौतिक अवसान भएको छ । कार्टरद्वारा राजालाई गरिएको आग्रहबाट पनि तत्कालीन विश्व राजनीतिमा कति महत्वपूर्ण व्यक्तित्व थिए भन्ने स्पष्ट हुन्छ ।
मृत्युदण्डसमेत हुन सक्ने प्रकृतिका आठवटा मुद्दा खेपिरहेका बिपीका लागि स्वदेश आगमनको निर्णय कम जोखिमपूर्ण थिएन । तर बिपी देश, प्रजातन्त्र र राष्ट्रियताको संवद्र्धनको उद्देश्य राखी स्वदेश फर्किए । त्यसो त कांग्रेसकै केही नेताकोे बुझाइमा भारततर्फको प्रस्थान बिपीको आत्मनिर्वासनको निर्णयको उपज थियो । बिपी त्यसबेला भारत जानुपर्ने कुनै आन्तरिक कारण नरहेको यो तप्काको बुझाइ छ ।
तर यो एक विचार मात्र हो । यसको पक्षमा समर्थन जनाउनैपर्नेहरुको सङ्ख्या कांग्रेसभित्रै पनि न्यून छ । सायद त्यतिबेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर बिपीबाट लिइएको एक अनिवार्य तर परिपक्व निर्णय थियो, नेपाल आगमन । जे होस, यो बहसको फरक विषय हो ।
निश्चित के हो भने मेलमिलापको औचित्य स्वीकार गर्दै बिपी नेपाल फर्केपछि आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो । साँच्चै हो भने आजको लोकतन्त्रसहितको नेपाल बिपीको त्यही जोखिमको परिणाम होभन्दा फरक पर्दैन ।
बिपी नेपाल फर्किएको कुराको कांग्रेसलगायत प्रजातान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने धेरैले स्वागत गरेका थिए । तर उनको अनुपस्थितिका कारण रिक्त स्थानको लाभ उठाउँदै टाउको उठाउन थालेको तत्कालीन कम्युनिष्टहरुले भने बिपीको स्वदेश आगमनलाई खासै रुचाएको थिएनन् । यसैगरी, बिपीको नेपाल आगमनलाई त्यसबेला राजपरिवारलाई पनि मन परेको थिएन ।
तर अन्तर्राष्ट्रिय राजनीतिमा बिपीको बढ्दो कदका कारण उनको नेपाल आगमनलाई अस्वीकार गर्नसक्ने अवस्थामा पनि राजपरिवार थिएन । बिपी नेपालबाट जाँदा र फर्कंदाको बीचमा स्थानीय राजनीतिक परिदृश्यमा निकै फरकपन आइसकेको थियो । राजा महेन्द्रको अवसान भइसकेको थियो ।
राजाका रुपमा बेलायतमा पढेका वीरेन्द्र अवतरित भएका थिए । चीनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो । बङ्गलादेशको स्थापना र भारतमा सिक्किम विलयको प्रभावबाट पनि नेपाल अछुतो थिएन । नेपाली कांग्रेसले विगतमा प्रारम्भ गरेको सशस्त्र सङ्घर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्नचिह्न उठाइरहेको थियो ।
विश्व असंग्लग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो । यस्तोमा बिपीको नेपाल आगमन भएको थियो, जसले तात्विक रुपमा निकै अर्थ राख्दथ्यो । बिपी समुन्नत वा समृद्ध राष्ट्रका लागि राष्ट्रवादी र प्रजातन्त्रवादीका बीच न्यूनतम एकता र सहअस्तित्व चाहन्थ्यो ।
बिपीको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढङ्गले विश्लेषण गरिनु आवश्यक छ । माथि उल्लिखित पृष्ठभूमिका केही कारक अवस्था हुन्, जसको विश्लेषण गरिनु जरुरी छ र यसै आलोकमा बिपीको नेपाल आगमन र राष्ट्रिय मेलमिलापको नीतिलाई बुझ्नु जरुरी छ ।
अर्को कुरा, बिपीको अनुपस्थितिमा नेपाली राजनीतिले बिपी र कांग्रेसबिनाको एक नयाँ ‘कोर्स’ तय गर्ने प्रयास त गरिरहेको थियो नै सँगै निर्वासित भूमिका जिम्मेवारसँग बिपीको दूरी बढिरहेको आकलन त्यसबेला गरिएको थियो । जवाहरलाल नेहरुपुत्री इन्दिरा गान्धी सन् १९७५ को सङ्कटकालमार्फत निकै शक्तिशाली बनेको अवस्था थियो ।
विमान अपहरणको आरोपमा दुर्गा सुवेदी र सुशील कोइरालालाई भारत सरकारले पक्राउ गरेको थियो । यस्तो अवस्थामा सायद बिपीलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्नसक्ने सम्भावनाले पनि गाँजेको हुनसक्छ ।
बिपी नेपालका पूर्वप्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति थिए । यसर्थ उनको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वासनमा रहेकाले बिपीले नेपाल आगमन हेतु त्यही समय किन रोजे भन्ने प्रश्न महत्वपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई बिपीले रणनीतिक हिसाबले प्रयोग गरेको रुपमा बुझ्न सकिन्छ । त्यसबेला राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः बिपीका सामु तीन÷चार अवस्था विश्लेषणयोग्य थिए ।
बेलायतमा अध्ययन गरेका राजा वीरेन्द्रको उदय भइसकेको थियो, जो तुलनात्मक रुपमा प्रजातन्त्रमा विश्वास गर्दथे भन्ने विश्वास गर्न थालिएको थियो । अतः नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्र स्थापना र राष्ट्रियता प्रवद्र्धनको सङ्घर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्थ्यो भन्ने विश्वासका आधारमा बिपीले नेपाल आउने निर्णय गरेको हुनसक्छ ।
उनको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजा लक्षित थियो भन्न सकिन्छ । जो स्वाभाविक पनि थियो । राजाले राष्ट्रवादी धारको नेतृत्व गर्छन् भन्ने विश्वासका आधारमा प्रजातन्त्रको नेतृत्व गर्ने बिपीले राजासँग मिलेर नेपालमा नयाँ राजनीतिक अभियान सुरु गर्न सकिने संयन्त्रका रुपमा मेलमिलाप नीतिलाई लिएको हुनसक्छ । उनले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि उनको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ ।
यस्तै, आफ्नो अनुपस्थितिका कारण निर्माण भएको रिक्तताको अवस्थामा टाउको उठाउन थालेको कम्युनिष्ट प्रभावलाई रोक्न जरुरी रहेको उनको मान्यता हुनसक्छ । प्रजातान्त्रिक आन्दोलन कमजोर हुँदा कम्युनिष्ट आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आबद्ध हुनसक्ने सम्भावनाको अन्त्य गर्न पनि बिपीले नेपाल आगमनलाई उपयुक्त मानेको हुनसक्छ ।
यसैगरी, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुनसक्थ्यो र नेपाली कांग्रेसमाथिको आफ्नो पारम्परिक नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्ने सम्भावनाका आधारमा पनि बिपीले नेपाल फर्कने निर्णय गरेको हुनसक्छ । यी केही यस्ता आधार थिए, जसले बिपीलाई त्यही समयमा नेपाल फर्कन प्रेरित गरेको हुनसक्छ । यस क्रममा धेरै कुरा अहिलेसम्म अनुमानमा आधारित नै छन् किनभने बिपी स्वयंले यस विषयमा विस्तारमा धेरै चर्चा गर्नुभएको छैन ।
जे होस् तत्कालीन राष्ट्रिय राजनीतिमा बिपीको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो । सबैभन्दा महत्वपूर्ण कुरा बिपी स्वदेश फर्केपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने कांग्रेसले नै पनि नयाँ रुप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो । वैचारिक दृष्टिले कांग्रेस तुलनात्मक रुपमा केही परिपक्व भएको अनुभव गरिएको थियो ।
मुलुकको राजनीतिक दृिष्टकोण र बदलिँदो विश्व राजनीतिका कारण मुलुक निर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता जहिले पनि पर्दछ । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका बिपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुनसक्छ भन्ने उनको सोचलाई सबैले आत्मसात् गर्नु आवश्यक छ । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।
आज नेपालमा राजतन्त्र छैन । कम्युनिष्ट आन्दोलन पनि हिजोको अवस्थामा छैन । कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । विश्वमा असंग्लग्न आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन । यस्तोमा प्रश्न उठ्छ, के बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ ? नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने बिपी र नेपाली कांग्रेसको यो नीति आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा औचित्य छ ? यसको एउटै जवाफ हो, छ । बरु हिजोभन्दा आज यो नीति अझै सान्दर्भिक र महत्वपूर्ण ठहरिएको छ । हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उपयोगले सार्थक परिणाम सिर्जना गर्नसक्ने सम्भावनाको अपेक्षा गर्न सकिन्छ । (लेखक राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा हुन्)













ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया