मंगलबार, वैशाख १६, २०८२

पूर्व आईजीपी सर्वेन्द्रले एमाले छोडेपछि गोकुल बास्कोटाले हाने झटारो

मेरोन्यूज २०८१ पुष २१ गते १०:३१

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति कटाक्ष गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने बताएका छन् । झन् गएपछि सराप्ने संस्कार वाहियात भएको उनको भनाइ छ ।

आज बिहान सामाजिक सन्जालमा बास्कोटाले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्री बास्कोटाले पनि फेसबुकमार्फत् नै सो टिप्पणी गरेका हुन् ।

उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुने स्मरण गराएका छन् । उनी लेख्छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।’

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफू नेकपा (एमाले)मा नरहेको घोषणा गरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् आफू अहिले कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।

आफूले स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको खनालको भनाइ छ । उनले सामाजिक संजालमा लेखेका छन्-

‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेँ । यसैले म यसै माध्यमबाटस्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,’ उनले फेसबूकमा लेखेका छन्, ‘म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्य गरिरहने छु ।’

२०७६ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि पूर्वआईजीपी खनाल एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे ।

त्यसको दुई महिनापछि नै खनालले काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनालसँग पराजित भए ।

पछि खनालले तनहुँमा भएको उपनिर्वाचनमा पनि उम्मेदवारी दिए । यद्यपि, तनहुँ–१ मा पनि रास्वपा नेता स्वर्णिम वाग्लेले बाजे मारे । खनालले तेस्रो मत मात्र प्राप्त गरे । त्यसयता उनी एमालेमा त्यति सक्रिय देखिएका थिएनन् । खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेतृत्व गरेका थिए ।

प्रतिक्रिया