बुधबार, चैत ४, २०८२

‘तारुकाको पौरख, नेपालको गौरव’

माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ

मेरोन्यूज २०८१ माघ १ गते ८:३४

त्रिशूली (नुवाकोट)। माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जानकारी दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन् ।

“विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको छ”, संयोजक श्रेष्ठले भन्नुभयो, “जुधाइमा सहभागी हुने गोरुको प्रस्तुति उत्कृष्ट र दर्शकलाई भरपू्र मनोरञ्जन दिन प्रदर्शनी केन्द्रित गर्ने लक्ष्य लिएका छौँ ।” ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रममार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन केन्द्रित गरिँदै आएको संयोजक श्रेष्ठको भनाइ छ ।

तारुकाको गोरु जुधाइको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न । यस्तै, माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन् ।

गोरु जुधाउन किसानले पालेकामध्येबाट उत्कृष्ट ११र हल गोरु दर्ता गरेर गोरु जुधाइ प्रदर्शनी गर्न लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । गोरु जुधाइ प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटका अनुसार गोरु जुधाइ प्रदर्शनीका लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाइको नियम र आचारसंहिता, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोटपटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्तिसहितको व्यवस्था गरिएको छ ।

वेत्रावतीमा आयोजित गोरु जुधाइ प्रदर्शनी नेपाल र भोटबीच भएको युद्धअन्तर्गत १८४९ सालमा वेत्रावतीमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जित भएको उत्सवसँग जोडेर लिने गरिएको छ । यद्यपि उक्त तथ्यको पनि एकीन इतिहास कहीँ उल्लेख छैन ।

माघे सङ्क्रान्ति मनाउने क्रममा आजै नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछाप, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, शिवपुरी गाउँपालिका–५ शेराबगरलगायत स्थानमा पनि गोरु जुधाइ प्रदर्शनी गरेर किसानले सङ्क्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

किसानले पालेका गोरुलाई एकअर्कासँग अर्थात् ‘वान भर्सेस वान’का आधारमा नछुट्टिएसम्म जुधाइने हुँदा त्यसको अवलोकनका लागि स्वेदश तथा विदेशी पर्यटकहरूको पनि ध्यान केन्द्रित गर्दै आएको छ ।

प्रतिक्रिया