सोमबार, चैत २, २०८२

भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ

मेरोन्यूज २०८१ माघ १८ गते १८:१८

तनहुँ । व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा निर्माणाधीन मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले वि.सं २०८० भदौभित्र सम्पन्न गर्ने गरी वि.सं २०७९ भदौमा सम्झौता गरेको एक वर्ष बित्दा पनि आयोजनाको काम पूरा हुन नसकेको हो ।

दोस्रो पटक म्याद थपको अवधि आगामी फागुन महिनासम्म रहेको छ । फागुनभित्र मुख्य रिजर्भ ट्याङ्कीसम्म झार्न सकिए चैतदेखि पानी वितरण गर्ने लक्ष्य राखिएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए ।

‘व्यास–१ को भद्रमा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण मादीनदी किनारको सम्पवेल गार्ड हाउस र मुख्य पम्प हाउस गार्ड हाउस निर्माण भइरहेको छ’, उनले भने ‘अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्याङ्की निर्माण सम्पन्न गरी फिल्टरको कार्य भइरहेको छ ।’

करिब ७० प्रतिशत भौतिक प्रगति भएको व्यवस्थापक श्रेष्ठले अनुमान गरे । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको उनले जानकारी दिए ।

व्यवस्थापक श्रेष्ठका अनुसार २६ करोड २५ लाखको आयोजनालाई बोलपत्रमार्फत १९ करोडमा सम्झौता गरी निर्माण अघि बढाइएको हो । उनले भने, ‘आयोजनाको निर्माण ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भोग्नुपरेको छ ।’

व्यास–४ चुरेखोल्सीस्थित मादीनदी किनारबाट करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिए ।

उनका अनुसार संस्थाले ट्याङ्की निर्माणका लागि दुई रोपनी जग्गा खरिद गर्नुका साथै करिब तीन रोपनी सार्वजनिक जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गरिरहेको छ ।

उक्त मादीनदी लिफ्टबाट प्रतिसेकेन्ड २६ लिटर पानीको क्षमताको रहने उनले जानकारी दिए । पानी सङ्कलनका लागि फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माण यसअघि नै सम्पन्न भइसकेको छ ।

वि.सं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेको थियो । संस्थाले हालसम्म दुई हजार छ सय ८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । व्यास–१३ स्थित करादी खिरखादी मुहानबाट करिब १३ किमी दूरीबाट पानी ल्याएर आपूर्ति हुँदै आएको छ ।

संस्थाले हाल प्रतिसेकेन्ड १७ लिटर पानी सङ्कलन गरी व्यास–१ का २५ टोल र व्यास–१२ को एक टोलका उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए ।

उनका अनुसार यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण अघि बढाइएको हो ।

मादीनदी लिफ्ट आयोजनाअन्तर्गत ५२ किमी दूरीमा शाखा पाइप लाइन विच्छ्याइने कार्य सकिएको छ । उनले भने, ‘अहिले निर्माणलाई तीव्रता दिइएकाले यथाशीघ्र सम्पन्न भई नियमित पानी आपूर्ति हुने अपेक्षा गरिएको छ ।’ हाल दुई हजार छ सय ८० घरमा पानी वितरण गर्दा २१ हजार बढी उपभोक्ता लाभान्वित हुँदै आएका संस्थाले जनाएको छ ।

प्रतिक्रिया