शनिबार, फागुन ३०, २०८२

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मेरोन्यूज २०८१ माघ २६ गते १०:५८

मध्यविन्दु(नवलपरासी) । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह गरेका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

आज बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-१५ गोडारमा कृषकले गरेको सामूहिक प्याजखेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले सो आग्रह गरेका हुन् । “कृषि बालीमा धेरै विषादी प्रयोग नगरौँ, धेरै विषादी प्रयोग गर्दा आफू पनि रोगी भइन्छ”, उनले भने, “आफैँले प्रयोग गरेको विषादीले आफैँलाई रोग पनि लाग्छ, आफू पनि निरोगी बन्नुपर्‍यो ।”  

केही कृषकहरूमा धेरै आम्दानी होस्, एकै पटक आम्दानी होस् र यही वर्ष आम्दानी होस् भन्ने आसमा आवश्यकताभन्दा धेरै विषादी प्रयोग गर्दा धेरै समस्या सृजना हुने गरेको मन्त्री अधिकारीले बताए । विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्ने मनस्थितिमा रहेको मन्त्री अधिकारीले जानकारी दिए । 

“हामीले सम्पूर्ण कृषकलाई आग्रह गरिरहेका छौँ, यही काम गरेर पुष्ट हुनका लागि त निरोगी पनि हुन पर्‍यो, धेरै विषादी प्रयोग गर्दा काम गर्ने कृषक र उपभोक्ता दुवैलाई असर गर्ने हुँदा अब यसलाई रोकौँ”, उनले भने । 

कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए। कृषकले केही आम्दानी हुने आसमा गरेको खेतीबाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उनको दाबी छ ।  

“अहिले धेरै कृषकहरू सन्तुष्ट हुनुहुन्छ तर कतिपय ठाउँमा रोगका कारणले, रासायनिक मल नपाएका कारणले असन्तुष्ट हुनुहुन्छ”, उनले भने, “हामी त्यसको सुधार गर्न लागि परेका छौँ ।”   

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा २५ वटा समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गरिएको छ । 

प्रतिक्रिया