सुधार केन्द्रमा युवाको हत्या : दोषीलाई कारबाहीको दायरामा ल्याउन माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाहलमा परिवारजनद्वारा आइतबार गरिएको पत्रकार सम्मेलनमा कुटपिट गरी भाईको हत्या अभियुक्तमध्येका फरार दुई जनालाई चाँडोभन्दा चाँडो पक्राउ गर्न मृतकका दाजु श्यामप्रसाद धानुकले माग गरे ।
“दोषी नउम्कियोस र निर्दोष नफसोस् भन्ने हाम्रो माग छ । माघ १७ गते नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भाइलाई राखेका थियौँ”, श्यामप्रसाद धानुकले भने । घटनासँग जोेडिएका दुई फरार अभियुक्तलाई पक्राउ गर्न नदिन राजनीतिक चलखेल भइरहेको बताउँदै धानुकले भाइको हत्यामा संलग्न आरोपितलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग गरे । पुनःस्थापना केन्द्रका सञ्चालक कलैया–३ का साहेबबाबु मन्सुरसहित दुई जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
अनुशासन भङ्ग गरेको आरोपमा शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितले सामूहिक कुटपिट गर्दा कलैया उपमहानगरपालिका–९ का ३२ वर्षीय प्रदीप मण्डलको यही फागुन १ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ । “मुक्काले अनुहारमा कुटपिट गरिएको सङ्कलित प्रमाणले प्रष्ट भएको छ”, बाराका प्रहरी प्रमुख सन्तोष तामाङले भने, “मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ ।
मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको देखिन्छ ।” मण्डललाई दुई साताअघि परिवारले पुनःस्थापना केन्द्रमा राखेका थिए । पक्राउ परेका सात जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख तामाङले बताए । कुटपिट गरिरहेको सिसीटिभीको फुटेज प्रहरीले सुरक्षित राखेको छ ।
भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर कुटपिट गरिएको दृश्य देखिएको छ । पक्राउपर्नेमा कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा नं २ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा नं ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं ६ का २० वर्षीय महम्मद आँसु मियाँ वडा नं ३ का २९ वर्षीय तमन्ना मन्सुरल छन् ।
पुनःस्थापना केन्द्रमा सञ्चालककोतर्फबाट रेखदेख गर्ने र परामर्शदाताबाहेक मण्डलसहित १४ जना बस्दै आएका थिए । यसैबीच मृतकका परिवारजन र आफन्तले फरार अभियुक्तलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै कलैयामा प्रदर्शन गरेका थिए । मृतकलाई महिनाको रु १० हजार दिने सर्तमा सो सुधार केन्द्रमा पठाइएको थियो । मृतकको दुई छोरी र एक छोरा छन् ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया