शुक्रबार, वैशाख २५, २०८३

वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात

मेरोन्यूज २०८१ फागुन १३ गते १२:२४

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको छ ।

Advertisement
NiccNicc

गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ८४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।

‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो,’ उनले भने । गत आर्थिक वर्षको सात महिनाको अवधिमा भने एक खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड राजस्व संकलन भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा ५१ अर्ब ७९ करोड बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्षको सात महिनामा २२ अर्ब १४ करोड मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार ६ सय २४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा ३ अर्ब ९१ करोड राजस्व संकलन भएको छ ।

प्रतिक्रिया