शुक्रबार, वैशाख २५, २०८३

वन डढेलो सचेतना सप्ताह सुरु

मेरोन्यूज २०८१ चैत १ गते ८:२७
म्याग्दीको मङ्गला गाउँपालिका वडा नं. २ रणबाङको रानीभीर ठाडोपाखा सामुदायिक वनमा बुधबार साँझ ६ः३० बजे लागेको डढेलो । डढेलो लागेपछि वन नजिकका बासिन्दा त्रसित छन् । तस्बिर : ध्रुवसागर शर्मा / रासस

मध्यविन्दु (नवलपरासी)। जिल्लामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सुरु भएको छ । सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको छ ।

Advertisement
NiccNicc

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनिकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिने डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख वसन्त केशव अधिकारीले बताए। जसअन्तर्गत समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन सफा गर्ने, नमुना अभ्यसा गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका गरिने जनाइएको छ ।

कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढाउने कार्यालय प्रमुख अधिकारीले बताए। वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

वन डढेलोको उच्च जोखिम भएका जिल्लाहरू मध्ये नवलपरासी(बर्दघाट सुस्तापूर्व) १६ औँ स्थानमा रहेको छ । जिल्लामा दुई सय १२ वटा सामुदायिक वन, एक सय ६९ वटा कबुलियती वन, नौ वटा धार्मिक वन र एक वटा साझेदारी वन छन् । जिल्लाको कुल भूभागको ५८ प्रतिशत वन क्षेत्रले ढाकेको छ ।

प्रतिक्रिया