को बन्ला नेपाल प्रहरीको नयाँ आईजीपी ?

काठमाडौं । सोमबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जाँदैछन् ।
२०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् ।
आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।
कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन् । यस्तै डीआईजीहरु भोला रावल, गणेश चन्द र ध्रुवराज राउत अवकाशमा जाने छन् ।
आजै बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नयाँ नेतृत्व चुन्ने तयारी छ । स्रोतका अनुसार एआइजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।
थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।
वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् ।
प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जस अनुसार एआईजी दीपक थापा महानिरीक्षक बन्ने बलियो सम्भावना देखिन्छ।
उनी गिरी र तामाङभन्दा अघि एआईजीमा बढुवा भएका हुन् । थापा एआईजी भएको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए ।
अब बन्ने आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्।
प्रतिक्रिया