मंगलबार, वैशाख १५, २०८३

फ्रान्सेली नेताले फिर्ता मागे ‘स्ट्याचु अफ लिबर्टी, ह्वाइट हाउसको तीव्र प्रतिक्रिया

मेरोन्यूज २०८१ चैत ५ गते ७:२१

पेरिस । फ्रान्सका एक नेताले ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ता गर्नु पर्ने माग गरेपछि अमेरिका र फ्रान्सबीच कूटनीतिक तनाव बढेको छ । 

Advertisement
NiccNicc

यसबारे ह्वाइट हाउसले कडा प्रतिक्रिया दिँदै अमेरिका नभएको भए आज फ्रान्सका जनताले जर्मन भाषा बोल्न बाध्य हुने जवाफ दिएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले फ्रान्सेली नेताको मागको जवाफ भनिन, ‘बिल्कुल होइन, म ती नेतालाई सम्झाउनेछु कि यदि संयुक्त राज्यले हस्तक्षेप नगरेको भए फ्रान्सेली जनताले आज जर्मन बोल्ने थिए। तिनीहरू हाम्रो महान देशप्रति कृतज्ञ हुनुपर्छ।’

अमेरिकाको यो कथनले दोस्रो विश्वयुद्धको ऐतिहासिक घटनाहरू तर्फ औंल्याउँछ। सन १९४० मा नाजी जर्मनीले फ्रान्सलाई कब्जा गर्यो, जसको कारण फ्रान्सेली सेनाले आत्मसमर्पण गर्नुपर्‍यो। तर, १९४० मा अमेरिकी र सहयोगी सेनाहरूले नर्मन्डी ल्यान्डिङ (डी.डे) मार्फत फ्रान्सलाई स्वतन्त्र गराएका थिए।

‘स्ट्याच्यू अफ लिबर्टी’ न्यूयोर्कको हार्बरमा अवस्थित ऐतिहासिक मूर्ति हो, जुन फ्रान्सले सन् १८८६ मा संयुक्त राज्य अमेरिकालाई उपहार स्वरूप दिएको थियो। यसको कुल उचाइ ३०५ फिट छ र यसलाई लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिने गरिन्छ । यो फ्रान्सेली मूर्तिकार फ्रेडरिक अगस्टे बार्थोल्डीद्वारा डिजाइन गरिएको थियो, जबकि आधार संरचना गुस्ताभ एफिल (एफिल टावरको निर्माता) द्वारा बनाईएको थियो । यो मूर्ति फ्रान्सद्वारा स्थायी उपहारको रूपमा दिइएको थियो ।

त्यसैले यसलाई फिर्ता गर्न को लागी कुनै कानूनी प्रावधान छैन। अमेरिकी प्रशासनको भनाइबाट स्पष्ट हुन्छ कि उनीहरुले यो मागलाई पूर्ण रुपमा अस्वीकार गरेका छन् ।

हालै डोनाल्ड ट्रम्पको पुनः निर्वाचित बलियो स्थिति र व्यापार शुल्कमा वृद्धि भएपछि अमेरिका र युरोपबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। अमेरिकाले युरोपेली आयातमा नयाँ कर लगाए पछि फ्रान्सलगायत धेरै देशहरू आक्रोशित भएका छन्। ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ताको मागलाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ । 

‘स्ट्याच्यू अफ लिबर्टी’लाई लिएर अमेरिका र फ्रान्सबीचको बहस हास्यास्पद लाग्न सक्छ तर यसले दुई देशबीच बढ्दो कूटनीतिक र व्यापारिक मतभेदलाई झल्काउँछ। अमेरिकाले यो ऐतिहासिक प्रतीक फिर्ता गर्ने मूडमा नरहेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया