शनिबार, वैशाख १२, २०८३

उपचारमा खटिने जनशक्ति संक्रमित भए सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

मेरोन्यूज २०७८ वैशाख १९ गते २०:३९

जनकपुर । कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भएमा सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । कोभिड–१९को दोश्रो लहर भयावहरूपमा बढेको देखेपछि आज प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले सो निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement
NiccNicc

सोही बैठकले भविष्यमा बढ्न सक्ने संक्रमितको चापलाई दृष्टिगत गरी प्रदेशभित्रका निजी अस्पताललाई नेपाल सरकारको मापदण्डबमोजिम सम्झौंता गरी सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिनेसमेत निर्णय गरेको हो । यसका साथै, प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्न लगाउनसमेत निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबावु राउतको अध्यक्षतामा बसेको बैठकमा मन्त्री, प्रमुख सचिवका साथै प्रदेशमा सचिव, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति थियो । रासस

प्रतिक्रिया